newskoseli.Com

मोहन वैद्यद्वारा घनश्याम ढकाल स्मृतिग्रन्थ विमोचन : के–के भने आहुति र निनुले ?

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जनयुद्धका योद्धा एवं वरिष्ठ साहित्यकार घनश्याम ढकालको स्मृतिमा प्रकाशित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ को शनिबार राजधानीमा विमोचन गरेका छन् ।

अखिल नेपाल प्रगतिशिल लेखक सङ्घको अध्यक्ष पदमा क्रियाशील रहेकै अवस्थामा लेखक, चिन्तक तथा प्राध्यापक हुँदै कम्युनिस्ट पार्टीका विभिन्न उच्च पदमा रहेर समेत कम्युनिस्ट आन्दोलनमा क्रियाशील ढकालको २०६८ मा निधन भएको थियो ।

ढकालको सातौं स्मृति दिवसको अवसरमा ‘घनश्याम ढकाल स्मृति सांस्कृतिक प्रतिष्ठान’ ले आयोजना गरेको परिचर्चा कार्यक्रममा बोल्ने वक्ताहरूले ढकालले छोटो समयमै नेपाली साहित्यमा ठूलो योगदान दिएको धारणा राखे । ढकालका १६ भन्दा बढी कृति प्रकाशित छन्, जसमा ५ वटा कथासङ्ग्रह, ‘गाउँभित्र’ र ‘रातो आकाश’ गरी दुई उपन्यास, पाँच कवितासङ्ग्रह, तीन समालोचना, तीन निबन्धसङ्ग्रह प्रकाशित छन् । उनले विभिन्न पत्रपत्रिकाको सम्पादन समेत गरेका थिए ।

घनश्याम ढकाल राष्ट्रिय प्रतिभा पुरस्कार २०५१, साहित्य सन्ध्या पुरस्कार तथा गोकुल साहित्य पुरस्कारबाट सम्मानित भएका थिए । शनिबार विमोचित ‘घनश्याम ढकाल स्मृतिग्रन्थ’ ६ सय ७२ पेजको छ । यसमा विभिन्न ९३ विद्वानका ९५ वटा रचना समावेश छन् । विभन्न चार खण्डमा विभाजित सो ग्रन्थमा जीवनवृत्त, लेखकका संस्मरण तथा ३९ वटा समालोचना छन् ।

विमोचनका अवसरमा बोल्दै नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव वैद्यले नेपालमा गणतन्त्र स्थापना भइसकेको भए तापनि नेपाली जनताको जीवनस्तरमा अझै कुनै परिवर्तन नआएकाले क्रान्ति अपरिहार्य रहेको बताए । मार्क्सवादी दर्शनमा आस्था राख्ने प्रगतिवादी साहित्यिक आन्दोलनका धरोहर ढकाललाई राज्यबाट पनि सम्मान हुनुपर्ने उनले बताए । नेपालमा जनयुद्धको प्रक्रिया सुरु भएदेखि नै ढकालसँग आफ्नो सान्निध्य रहेको र जनयुद्ध तथा सामाजिक परिवर्तनमा ढकालको योगदान अविष्मरणीय रहेको वैद्यले चर्चा गरे ।

कम्युनिस्ट नेता एवं वरिष्ठ साहित्यकार आहुतिले नेपालमा सामन्तवादको नाइके राजसंस्थाको अन्त्य भइसके पनि सामन्तवाद तथा साम्राज्यवाद अझै पनि चुनौतीकै रूपमा रहेको बताए । अब कम्युनिस्ट पार्टीलाई प्रगतिशील विचारसहित कसरी अगाडि बढाउने भन्ने विषयमा नयाँ ढङ्गले बहस गर्नुपर्ने खाँचो उनले औंल्याए ।

‘घनश्याम ढकाल स्मृति सांस्कृतिक प्रतिष्ठान’ का अध्यक्ष निनु चापागाईंले नेपालमा सामाजिक परिवर्तनका लागि अझै कम्युनिस्टले जनजागरण अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर