newskoseli.Com

‘सीएसडब्ल्यू’ मा सहभागी हुन राष्ट्रपति भण्डारी न्यूयोर्क प्रस्थान

महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सीएसडब्ल्यू) को ६३औं अधिवेशनमा भाग लिन राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गरेकी छन् ।

राष्ट्रसङ्घको प्रधान कार्यालयमा फागुन २७ देखि चैत ८ सम्म आयोजना हुने उक्त अधिवेशनका क्रममा उनले फागुन २८ मा हुने ‘शक्तिमा नारी’ विषयक उच्चस्तरीय बैठकलाई सम्बोधन गर्नेछिन् । ‘नारी नेतृले विश्वलाई कसरी परिवर्तन गर्छन्’ भन्ने विषयमा पनि राष्ट्रपतिले मन्तव्य दिने कार्यक्रम छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई बिदाइ गर्न उपराष्ट्रपति, प्रधानमन्त्री, सङ्घीय सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री तथा रक्षामन्त्रीसहित मन्त्रिपरिषदका सदस्य, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार, परराष्ट्र मामिला सल्लाहकार, निमित्त परराष्ट्र सचिव, संवैधानिक अङ्गका प्रमुखलगायत उपस्थित थिए ।

राष्ट्रपति भण्डारी फागुन २७ गते साँझ राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले नारी राष्ट्राध्यक्ष–सरकार प्रमुखको स्वागत एवं सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछिन् । उच्चस्तरीय बैठकका क्रममा राष्ट्रपतिसँग राष्ट्रसङ्घको सचिवालयमा महासचिव एण्टोनियो गुटेरेस र अध्यक्ष ग्रेसेसले शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति भण्डारीले इस्टोनियाका राष्ट्रपति केस्ट्री कालजुलेड तथा क्रोयशियाका राष्ट्रपति कोलिण्डा ग्राबर किटारोभिचसँग द्विपक्षीय वार्ता गर्नेछिन् भने उनीसँग आयरल्याण्डका पूर्वप्रधानमन्त्री मेरी रविन्सनले पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । राष्ट्रपतिले फागुन २९ मा राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको भ्रमण गर्नेछिन् । राष्ट्रपतिको सम्मानमा संयुक्त राज्य अमेरिकाका लागि नेपालका राजदूत अर्जुनकुमार कार्की र राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राईले संयुक्त रूपमा स्वागत समारोह आयोजना गर्नेछन् ।

राष्ट्रपति नेतृत्वको प्रतिनिधिमण्डलमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा, प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पाल, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मीकुमारी कार्की, परराष्ट्र सचिव शङ्करदाश बैरागी, राष्ट्रपतिको कार्यालयका सचिव विनोद केसी, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकी सचिव यामकुमारी खतिवडा तथा राष्ट्रपतिको कार्यालय, परराष्ट्र मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी रहेको खबर राससले ष्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर