newskoseli.Com

विश्वविद्यालय पढाउनेलाई पीएचडी अनिवार्य !

क्याम्पस पढाउने प्राध्यापकले अबको केही वर्ष पछिदेखि अनिवार्य रुपमा विद्यावारिधि (पीएचडी) गरेको हुनुपर्ने नीति ल्याइने दावी त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. तीर्थ खनियाँले गरेका छन् ।

भैरहवा बहुमुखी क्याम्पसको स्वर्ण महोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय विश्वका एक हजार उत्कृष्ट र गुणस्तरीय विश्वविद्यालयको सूचीमा परेको उल्लेख गर्दै यसको सकारात्मक प्रभाव ६२ वटै आङ्गिक क्याम्पसमा जाने उनले बताए ।

बजारले खोजे अनुसारका नयाँ–नयाँ शैक्षिक कार्यक्रम समेत विश्वविद्यालयले सञ्चालन गरिरहेको प्रा.डा. खनियाँले बताए । भैरहवा क्याम्पसमा सञ्चालित बीबीए, बीसीए, बीएससीआर्इटी, बीआर्इएमजस्ता विषय त्यसको उदाहरण भएको उनले उल्लेख गरे ।विश्वविद्यालयका आङ्गिक, सम्बन्धन प्राप्त र सामुदायिक क्याम्पसहरुमा गरी हाल ४ लाख विद्यार्थी रहेको दाबी गर्दै उक्त सङ्ख्या विश्वकै ठूला विश्वविद्यालयको भन्दा धेरै भएको उनले बताए ।

कार्यक्रममा बोल्दै रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमा मात्रै शैक्षिक शत्र २०७३–०७४ मा १ लाख ३८ हजार विद्यार्थी रहेकामा हाल १ लाख ५६ हजार पुग्नुले विश्वविद्यालयप्रतिको विश्वास झनै बढेर गएको बताए ।

‘कीर्तिमानी विद्यार्थी’ सम्मान

क्याम्पसका पूर्वविद्यार्थी, जसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त गरेका छन्, त्यस्ता व्यक्तिलाई ‘कीर्तिमानी विद्यार्थी’ को सम्मान दिइयो । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. खनियाँले कीर्तिमानी विद्यार्थीलाई सम्मानपत्र र दोसल्लाका साथ सम्मान गरे ।

यसरी सम्मानित हुनेमा पूर्वविद्यार्थी एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतम, राजनीतिज्ञ दिवंगत जीवराज आश्रित, पूर्वसांसद डा. विजय पौडेल, प्राज्ञ उन्नति बोहरा, पूर्वप्रहरी महनिरीक्षक कुवेरसिंह राना, नेता नेत्र पन्थी, नेपाली राष्ट्रिय खेलकुद टिमका कोच राजु खड्का, गायक हेमन्त शर्मा, नेपाल सरकारका पूर्वसहसचिव अब्दुल कलाम खाँ, मुक्तककार रामकाजी कोने, बुटवल बहुमुखी क्याम्पसका प्रमुख शखिशरण सुवेदी, प्रा.डा. जीवलाल सापकोटा, प्रा.डा. लेखनाथ भट्टराई, वरिष्ठ पत्रकार किशोर नेपाल र रञ्जु काफ्ले, पूर्वप्रमुख सागरप्रताप राणा, नेपाल सरकारका उपसचिव महाराजा कोइराला, साल्ट ट्रेडिङका क्षेत्रीय प्रमुख हरिश्चन्द्र श्रेष्ठ, साफका पूर्वसहायक रेफ्री दुर्गाबहादुर विक, पूर्वप्रहरी नायब महानिरीक्षक केशव अधिकारी, उद्योगी कृष्णप्रसाद शर्मा, नगर प्रमुख हरिप्रसाद अधिकारी र नरेन्द्रप्रसाद गुप्ता, उपप्रमुख उमा काफ्ले, पूर्वप्रहरी नायब निरीक्षक राजकुमार राजभण्डारी, अन्तर्राष्ट्रिय खेलाडी रुप कार्की, सञ्जिवनी मेडिकल कलेजका प्रमुख कार्यकारी दीपक रोका र पूर्वप्रमुख जिल्ला अधिकारी दामोदर पन्त रहेका छन् ।

कार्यक्रममा पूर्वस्ववियु सभापति, प्राध्यापक तथा कर्मचारीलाई समेत सम्मान गरियो । भैरहवा क्याम्पस वि.सं. २०२५ मा स्थापना भएको हो । यो क्याम्पस रुपन्देहीको पहिलो क्याम्पस समेत भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर