newskoseli.Com

फुट्दै प्रगतिशील लेखक संघ (प्रलेस) : बेग्लै संगठन घोषणाको तयारी !

लामो इतिहास बोकेको र नेपालका भए जति सबै खाले ‘वाम’ पक्षधर लेखक–साहित्यकार अटाउने ‘साझा थलो’ प्रगतिशील लेखक संघ (प्रलेस) आसन्न राष्ट्रिय सम्मेलनकै सेरोफेरोमा यसपालि भने विधिवत विभाजन हुने भएको छ ।

‘वाम’ सरकारको वैचारिक गन्तव्य संसदीय व्यवस्था भएको र यसले यथास्थितिवाद र दलाल पुँजीपति वर्गको प्रतिनिधित्व गरिरहेको भन्दै विचारको विचलनका रुपमा सत्ताको प्रतिनिधित्व गर्ने व्यक्तिहरु नै प्रलेसको मुख्य भूमिकामा रहेकाले सोसित सँगै जान नसक्ने भन्दै संसदीय व्यवस्थाका विरोधी र जनवाद–समाजवाद पक्षधर लेखक–कलाकारहरु छुट्टै संगठन निर्माणमा लाग्ने निर्णय भएको बुझिएको छ ।

हालको ‘प्रलेस’ संविधानमा अभिव्यक्त संकथनअनुरुप सामन्तवाद र साम्राज्यवादविरोधी शक्तिका रुपमा नभएर उल्टै राष्ट्रविरोधी गतिविधिमा संलग्न हुँदै देश र जनताको हितविरुद्ध काम गरिरहेको हुनाले पनि त्यस्ता शक्तिसित वर्तमान स्थितिमा सहकार्य गर्नु अनुपयुक्त रहेको ठहर बेग्लै प्रलेसका अभियन्ताहरुले गरेका छन् ।

मोहन वैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघको शुक्रबार सम्पन्न केन्द्रीय समितिको बैठकले पनि सोही अनुरुपको निर्णय लिइसकेको बताइएको छ । महासंघले सीके राउतसँग हालै भएको सम्झौताले सारतः राष्ट्रद्रोहको अभिव्यक्ति दिने र राष्ट्रिय स्वाधीनता तथा अखण्डतामाथि सुदूर भविष्यमा गहन प्रभाव पार्ने निष्कर्ष निकाल्दै सरकारको राष्ट्रियताविरोधी चरित्र पुष्टि भएको ठहर गरेको छ ।

यसै सन्दर्भमा ‘प्रलेस’ प्रतिक्रियावादीहरुको कब्जामा जाने स्थिति देखिएकाले सो केन्द्रलाई क्रान्तिकारीहरुले स्वीकार गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै महासंघको बैठकले यस सन्दर्भमा सत्ताइतर प्रगतिशील, क्रान्तिकारीहरुको एउटा अलग्गै वैचारिक धारको पहिचानका निम्ति ध्रुवीकरणको आवश्यकतालाई समेत महशुस गरी त्यसका निम्ति सार्वजनिक आह्वान गर्ने निर्णय गरेको छ ।

अध्यक्ष ईश्वरचन्द्र ज्ञवालीको अध्यक्षतामा सम्पन्न बैठकमा महासंघका उपाध्यक्ष डा. जगदीशचन्द्र भण्डारी, सदस्यहरु मित्रलाल पंज्ञानी, डा. ताराकान्त पाण्डेय, हिरामणि दुःखी, खगेश्वर भण्डारी, चित्रबहादुर थारु, इस्माली, आदर्श राई, गौरी दाहाल, पेमा लामा, आरबी राई, विष्णु न्यौपाने, असल पाख्रिन, मोदनाथ मरहट्टा, परशुराम कोइराला, देवेन्द्र लम्साल, विमला चन्द, छायादत्त न्यौपाने, सुकुम शर्मा, प्रभात सापकोटा, डा. विदुर वस्ती, उमेश आचार्य, प्रकाश खनाल, पूर्णबहादुर अधिकारी, विष्णु आले, अर्जुनकुमार ढकाल, विजयराज आचार्य, सुशीला थापा, प्रतीक तामाङ, श्रीकृष्ण सुलु, वसन्त बोगटी, सुनिता बुढाथोकी, र्इश्वरी गुरागाईं, धनेश्वर पोखरेल, सूर्यप्रसाद भट्टराईलगायत उपस्थित थिए ।

प्राप्त समाचारमा जनाइए अनुसार सांस्कृतिक तथा साहित्यिक व्यक्तित्वहरु डा. नन्दीश अधिकारी, निनु चापागाईं, आहुति, नरेन्द्रजंग पिटर, रोशन जनकपुरी, जीवन शर्मा, कृष्णहरि भट्ट, मात्रिका पोखरेल, बलराम तिमिल्सिना, संगीत श्रोता, विष्णु भण्डारी, भुपाल राई, भोगीराज चाम्लिङ, पुण्य कार्की, सरिता तिवारी, केशव सिलवाल, कल्पना चिलवाल, प्रकाश चापागाईं, नन्दलाल आचार्य, राजेन्द्र घायल, अशोक शर्मा, कपिल अज्ञात, कला अनुरागी, विनोदविक्रम केसी, गुरुङ सुशान्त, राजु स्याङतान, सकुन्तला जोशी, यज्ञबहादुर डाँगी, केदार श्रेष्ठलगायतका लेखक तथा साहित्यकारहरुले पनि सत्ताइतर क्रान्तिकारी सांस्कृतिक धाराको निर्माण गर्नुपर्ने कुरामा सहमति जनाएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर