newskoseli.Com

‘मन्त्रिमण्डल फेरबदल हुँदैन’ : प्रधानमन्त्रीको प्रश्न– ‘विप्लव समूह पार्टी नै होइन, केको प्रतिबन्ध ?’

तत्काल मन्त्रिमण्डल फेरबदल हुने र त्यसको गृहकार्य समेत भैसकेको चर्चा सर्वत्र चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने तत्काल मन्त्रीपरिषद् पुनर्गठन नहुने बताएका छन् ।

आइतबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले भने– ‘एउटा मन्त्रालय खालि छ, अपूर्णलाई पूर्ण गर्ने हो, मन्त्रिमण्डलमा तत्काल अरू पुनर्गठन हुँदैन ।’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अघिल्ला साता विराटनगरबाटै मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने बताउँदै भनेका थिए– ‘मन्त्रिमण्डलमा फेरबदल गर्नेबारे प्रधानमन्त्रीजीसँग मेरो छलफल भएको छ, के–कसो भन्नेबारे उहाँले नै निर्णय लिनु हुनेछ, यो प्रधानमन्त्रीको अधिकार हो, उहाँले चाहँदा मन्त्रिपरिषद पुनर्गठन हुन्छ ।’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबारे सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले भने– ‘विप्लव समूह कुनै कार्यालयमा दर्ता नभएको अनाधिकृत संस्था हो, त्यो पार्टी नै होइन, एउटा अनधिकृत झुण्ड मात्रै हो । जुन संस्था विधिवत छैन, त्यस्तो झुण्डलाई सरकारले चिन्दैन ।’’

‘विप्लव समूह’ राजनीतिक दल नभएकाले दलमाथि प्रतिबन्ध नलगाइएको भन्दै उक्त ‘समूह’ ले गरेका ‘विध्वंसात्मक गतिविधि’ माथि मात्रै प्रतिबन्ध लगाइएको प्रधानमन्त्री ओलीले दावी गरे ।

‘विप्लव समूह’ बारे धारणा राख्दा ‘सचेत हुन’ नेताहरुलाई आग्रह गर्दै उनले भने– ‘नेताजीहरुलाई म आग्रह गर्न चाहन्छु, आफैंलाई जवाफ दिन नसक्ने कुराहरु नगर्नुहोस्, नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो, बम पड्काएर उद्यमी–व्यवसायी र जनप्रतिनिधिलाई धम्क्याउने ? बम पड्काइरहेको छ, धम्क्याइरहेको छ, अनि यस्तो गर्न पाइँदैन भन्दा रुवाबासी गर्ने ? गम्भीर राजनीति गर्नुपर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर