newskoseli.Com

कांग्रेसले बनायो ‘निर्वाचन, नियमावली मस्यौदा र अनुशासन समिति’

पार्टीको १४औं महाधिवेशन सम्पन्न गर्न नेपाली कांग्रेसले राधेश्याम अधिकारीको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको विधान अनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । निर्वाचन समितिका सदस्यहरुमा गोपालकृष्ण घिमिरे, खम्मबहादुर खाती, सीताराम केसी र एकराज पोखरेल रहेका छन् ।

बैठकले नियमावली मस्यौदा समिति पनि गठन गरेको छ । पार्टीका केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टी नियमावली मस्यौदा समिति गठन गरिएको हो । समितिका सदस्यहरुमा मीन विश्वकर्मा, जीवन परियार, ईश्वरी न्यौपाने र प्रदीप पौडेल रहेका छन् ।

मंगलबारको बैठकले पार्टी केन्द्रीय अनुशासन समितिलाई समेत पूर्णता दिएको छ । भीष्मराज आङ्देम्बेको संयोजकत्वमा सोमबार गठित समितिलाई मंगलबारको बैठकले पूर्णता दिएको हो । समितिका सदस्यहरुमा उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल रहेका छन् । बैठकले अघिल्लो अनुशासन समितिमा रहेका संयोजक रमेश रिजाललगायत सदस्यहरुलाई धन्यवाद व्यक्त गरेको छ ।

विखण्डनको बाटो परित्याग गरी मुलुकको अखण्डता स्वीकार गरेर संविधानभित्रैबाट समाधानमा पुग्न चाहने समूहलाई स्वागत गरिरहँदा समाधानको विधिबारे रहेका गम्भीर विरोधाभाषलाई स्पष्ट वार्न बैठकले सरकारसँग माग गरेको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

सम्झौताको दुई साता पुग्दासम्म ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को व्याख्या नगरिनु आपत्तिजनक भएको काङ्ग्रेसले जनाएको छ । यस्तै, नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीलाई ‘हत्या–हिंसा र चन्दा आतङ्कको बाटो’ परित्याग गरी शान्तिपूर्ण राजनीतिमा आउन समेत कांग्रेसले आह्वान गरेको छ ।

‘निषेधको बाटोलाई होइन, वार्ताको माध्यमबाट सो पार्टीलाई विश्वासमा लिई शासकीय योग्यता प्रस्तुत गर्न सरकारसँग कांग्रेस आग्रह गर्दछ’– प्रवक्ता शर्माले भने । राष्ट्रिय संवेदनशीलताका विषयमा निर्णय लिनुअघि प्रमुख प्रतिपक्षलाई विश्वासमा लिने संसदीय लोकतन्त्रको परम्परा र संविधानको मर्म अनुरुपको अभ्यासलाई सरकारले त्यागेको भन्दै कांग्रेसले आपत्ति जनाएको छ ।

अत्यन्त हर्षोल्लासका साथ मनाइने होली पर्वले मुलुकलाई शान्ति, एकता, पारस्परिक विश्वास, उच्चतम सामाजिक–नैतिक मूल्य–मान्यता र समृद्धिको बाटोमा लैजान प्रेरित गरोस् भन्ने शुभकामना समेत कांग्रेसले व्यक्त गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर