newskoseli.Com

कलेजको गम्भीर लापरबाही : इन्जिनियरिङका विद्यार्थीको बिचल्ली

कलेजको गम्भीर लापरबाहीका कारण पूर्वी नवलपरासीको गैंडाकोटस्थित ‘अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट’ मा अध्ययरत १९ विद्यार्थी बिचल्लीमा परेका छन् ।

२०१४ देखि २०१८ ब्याचका तीन विद्यार्थी मौका परीक्षा दिनबाट वञ्चित हुन पुगेका छन् भने १६ विद्यार्थी यस वर्ष माथिल्लो स्तरको एमई भर्ना हुन नपाएपछि बिचल्लीमा परेका हुन् । उक्त कलेजले सिभिल इन्जिनियरिङ सङ्कायतर्फको तेस्रो र पाँचौं सेमेस्टरको प्रोजेक्ट वर्कको अङ्क पोखरा विश्वविद्यालयलाई समयमै नपठाउँदा ती विद्यार्थी समस्यामा परेका हुन् ।

२०७५ पुस १२ मा नतिजा प्रकाशन हुनुपर्ने भए पनि विद्यार्थीको दबावपछि कलेजले प्रोजेक्ट वर्कको अङ्क पोखरा युनिभर्सिटीलाई पठाएर चैत ५ मा नजिता प्रकाशन गरेको थियो । छैटौं, सातौं र आठौं सेमेस्टर पास गरेका १६ विद्यार्थीको समेत तेस्रो र पाँचौं सेमेस्टरको प्रोजेक्ट वर्कको नम्बरको नतिजा ढिला आएका कारण उनीहरू यस वर्ष एमई भर्ना हुन नपाएका हुन् । नतिजाअनुसार तीन विद्यार्थी सोमती गुरुङ, विवेक भट्ट र विनिता लामिछानेले मौका परीक्षा दिन पाउने थिए । मौका परीक्षाका लागि फारम भर्ने अवधि फागुन ३० सम्म रही चैत ४ र ५ गते मौका परीक्षा निर्धारण गरिएको थियो ।

पोखरा विश्वविद्यालय चैत २ र त्रिभुवन विश्वविद्यालयले फागुन २१ सम्म एमईका लागि आवेदन फारम भर्न पाउने समयावधि तोकेकाले उनीहरू बिचल्लीमा परेका हुन् । कलेज प्रशासनका तर्फबाट प्राचार्य हरि भण्डारीले भने प्राविधिक त्रुटिका कारण नतिजा ढिलो आएकाले विद्यार्थी समस्यामा परेको दावी गरे ।

कलेजले प्रोजेक्टको अङ्क समयमै नपठाएका कारण नतिजा प्रकाशन ढिलो हुँदा विद्यार्थीलाई समस्या भएको पोखरा विश्वविद्यालयका उपकुलपति चिरञ्जीवी शर्माले बताए । कलेजकै ढिलाइका कारण नतिजा प्रकाशन ढिलो भएको पीडित विद्यार्थीको आरोप रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर