newskoseli.Com

नेपालीले अब जापानमा रोजगारी पाउने : दुई देशबीच श्रम समझदारीमा हस्ताक्षर

नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धमा नेपाल र जापान सरकारबीच ‘सहयोग समझदारी’ भएको छ ।

नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी समझदारी पत्रमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा सोमबार श्रम मन्त्रालयका निमित्त सचिव डा. रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गरे । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने मार्गप्रशस्त भएको छ । गत जनवरीमा जापानले आफ्नो श्रम बजारमा अपुग श्रमशक्ति नेपाललगायत विभिन्न नौ देशबाट भित्र्याउने निर्णय गरेको थियो ।

सो अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजाने सम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुत र समृद्ध बनाउने विश्वास व्यक्त गर्दै समझदारीलाई छिटोभन्दा छिटो कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगारीलाई प्राथमिकता दिँदै आएको उल्लेख गर्दै नेपाली युवा कुनै झमेलामा नपरी आकर्षक गन्तव्यमा जान सकून् भन्ने उद्देश्यले दुई देशबीच समझदारी गरिएको उनले बताए ।

रोजगारीका क्रममा नेपाली युवाले जापानमा सिकेको सीप र अनुभव नेपालको विकासमा प्रयोग हुने विश्वास पनि मन्त्री विष्टले व्यक्त गरे । सरकारले सिपयुक्त जनशक्तिलाई मात्र वैदेशिक रोजगारीमा पठाउने योजना अघि सारेको जानकारी दिँदै जापानको श्रम बजारमा माग गर्ने दक्ष जनशक्ति उपलब्ध गराउन सरकारको ध्यान केन्द्रित हुने मन्त्री विष्टले बताए ।

सघन सहकार्यका आधारबाटै समयसीमाभित्रै दुई देशकबीच समझदारी सम्भव भएको श्रम मन्त्रालयका निमित्त सचिव घिमिरेले बताए । यस समझदारीले श्रम क्षेत्रमा सँगसँगै अगाडि बढ्न दुई देशलाई बलियो आधार सिर्जना गरेको उनले बताए । यस समझदारीले नेपाली श्रमिकलाई जापानी नागरिक सरह सेवा–सुविधा सुनिश्चित गर्ने नेपालका लागि जापानी राजदूत साइगोले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर