newskoseli.Com

लगानी सम्मेलनका लागि ‘एकीकृत सुरक्षा योजना’ : ७ हजार सुरक्षाकर्मी परिचालित

मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योग–धन्दा र कल–कारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौंमा सुरु हुने ‘तेस्रो लगानी सम्मेलन, २०७५’ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ ।

सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्य प्राप्त गर्न कोशेढुङ्गा हुने विश्वास गरिएको लगानी सम्मेलनको सुरक्षा व्यवस्थामा कुनै कसर बाँकी नराखिएको गृह मन्त्रालयले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग– तीन वटै सुरक्षा निकायको समन्वयमा सम्मेलनस्थल सहित पाहुनाको आवास क्षेत्र र आवत–जावत गर्ने क्षेत्रमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था मजबुत पारिएको जानकारी मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिए ।

‘सरकारले एकीकृत सुरक्षा योजना बनाएर लागू गरेको छ, विगतका सम्मेलनको अनुभवको आधारमा तत्कालै आइपर्ने समस्या समाधान गर्ने गरी सुरक्षा व्यवस्था मिलाइएको छ, पाहुनाको सुरक्षामा अपनाइने सबै प्रक्रिया अपनाएका छौं’– प्रवक्ता सुवेदीले भने । सम्मेलनका लागि विदेशी पाहुना आउने क्रम दुई दिन अघिदेखि नै सुरु भइसकेको छ ।

सम्मेलनका लागि तीनै निकायका सुरक्षाकर्मी र ट्राफिक प्रहरी सहित झन्डै ७ हजार सुरक्षाकर्मी खटाइने मन्त्रालयले जनाएको छ । प्रहरीका अनुसार सम्मेलनस्थलमा सुरक्षा समन्वय कक्ष नै स्थापना गरिनेछ । नेपाल प्रहरीका ४ हजार २ सय सुरक्षाकर्मी सम्मेलनमा खटिने नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेदीले बताए । सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागबाट समेत आवश्यक मात्रामा जनशक्ति खटाइएको जानकारी उनले दिए । सम्भावित आपराधिक क्रियाकलापलाई समेत ध्यानमा राखेर नाकामा चेक प्वाइन्ट स्थापना गरी चेक–जाँचमा कडाइ गरिएको छ ।

उनका अनुसार सबै सुरक्षाको नेतृत्व महानगरीय प्रहरी कार्यालय काठमाडौंले गरेको छ । विदेशी पाहुना बस्नेदेखि आवागमन गर्ने बाटोमा समेत सुरक्षा व्यवस्था मजबुत पारिएको छ । कार्यक्रम अवधिभर उच्छृङ्खल गतिविधि हुन नदिने र भइहालेमा तत्कालै पक्राउ गर्न सक्ने गरी सादा पोशाक र मोबाइल गस्तीमा समेत सुरक्षाकर्मी खटिने छन् । उपत्यकाका तीन वटै जिल्लाको सुरक्षामा कडाइ गरिएको छ ।

सशस्त्र प्रहरी बलबाट १ हजार ८ सय सुरक्षाकर्मी परिचालन गरिएको छ । उनीहरुलाई बिहीबार बिहानैदेखि फिल्डमा खटाइएको बताउँदै सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले भने– ‘९ नम्बर बाहिनीको कमान्डमा सशस्त्र प्रहरी परिचालित छन्, उनीहरु तीन वटै सुरक्षा निकायको समन्वयमा खटिन्छन् ।’

सम्मेलनका लागि झन्डै ६ सय ट्राफिक प्रहरी खटाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता जयराज सापकोटाले बताए । राष्ट्रिय अनुसन्धान विभागबाट समेत २ सयभन्दा बढी जनशक्ति खटिने बताइएको छ । शुक्रबारदेखि सुरु हुने दुईदिने सम्मेलनमा ४० देशका ६ सयभन्दा बढी सरकारी प्रतिनिधि र उद्योगी–व्यवसायीको सहभागिता रहने छ ।

सम्मेलनमा निजी क्षेत्र र सरकारका गरी कूल ७७ परियोजनालाई ‘सो–केस’ मा राख्ने सरकारको तयारी छ । मुख्यतः नेपाल लगानीका लागि उपयुक्त अवस्थामा छ भन्ने सन्देश दिनु सम्मेलनको उद्देश्य हो । सम्मेलन सफल बनाउन निज क्षेत्र समेत उत्साहित भएर लागेको छ । सम्मेलनकै क्रममा एक दर्जनभन्दा बढी परियोजनामा हस्ताक्षर गर्ने योजना सरकारले बनाएको छ ।

नेपालमा लगानीका अवसर र लगानी प्रवर्द्धनका लागि सरकारले लिएका नीति तथा कानुनी प्रयासबारे जानकारी गराउन सम्मेलन महत्त्वपूर्ण अवसर भएको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । खुला अर्थतन्त्रको नीति लिएको सन्देश दिन सरकारले २०४८ मा पहिलो लगानी सम्मेलन गरेको थियो । पछिल्लो राजनीतिक परिवर्तनले लगानीको वातावरण सिर्जना गरेको सन्देश दिन त्यसको २५ वर्षपछि २०७३ मा दोस्रो लगानी सम्मेलन भएको थियो ।

अहिले नेपालमा लगानीको वातावरण बनेको सन्देश विश्वलाई दिँदै देशलाई आर्थिक समृद्धिको मार्गमा डोर्‍याउन लगानी भित्र्याउने उद्देश्यले तेस्रो लगानी सम्मेलन गर्न लागिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर