newskoseli.Com

माओवादीहरु हो ! जनक्रान्तिलाई सही दिशा दिऔं !

कार्ल मार्क्सले ‘मुख्य कुरा बदल्नु हो’ भनेको कुरालाई आत्मसात् नगरी कम्युनिस्ट नै होइँदैन । कम्युनिस्ट हुन र पार्टी निर्माण तथा सञ्चालन गर्न केही आधारभूत नियमहरुको आवश्यकता पर्छ, जुन यतिबेला नेपाली कम्युनिस्ट आन्दोलनमा खड्किएका विषय हुन् ।

कुनै व्यक्तिमा सर्वहारा दृष्टिकोण निर्माण नभैकन र उसले–उनले सर्वहारा अधिनायकता नस्वीकारीसकेको अवस्थामा नै कम्युनिस्ट पार्टीको सदस्यता दिन मार्क्सवादले अनुमति दिन्छ ? कम्युनिस्ट पार्टी भनेको सर्वहारा वर्गको अग्रदस्ताको नियन्त्रणमा रहेको सत्ता र सेनासहितको संगठन हो, जुन जनवादी केन्द्रीयताको सिद्धान्तअनुसार चल्छ भनेर बुझ्नुपर्छ । गैरसर्वहाराको हुल पारेर निर्णय लिने अधिकार कसैलाई छैन । विगतमा के देखियो भने न त्यस्ता नेता र कार्यकर्ता रहे न त जनवादी केन्द्रीयताका आधारमा नेता तथा कार्यकर्ता संगठित र परिचालित नै भए । समीक्षाको यो पाटोलाई पन्छाएर कसैले क्रान्तिलाई टुङ्गोमा पुर्‍याउन सक्दैनन र रक्षा गर्न पनि सक्दैन ।

सम्पूर्ण किसान तथा मजदुरलाई एकताबद्ध पारेर क्रान्ति सम्पन्न गर्ने र श्रमको सत्ता अर्थात् श्रमजीवीको नियन्त्रणमा राज्यसत्ता निर्माण गर्ने सवाललाई आत्मसात् नगरी कम्युनिस्ट हुनै सकिँदैन । बुर्जुवा लुटको प्रतिस्पर्धामा टिक्न नसकेर असन्तुष्ट बनेका र शौखिन भीडहरु जम्मा पारेर क्रान्ति गर्छौैं भन्दा वर्गदुस्मनले मजा लिने कार्यको पुनरावृत्ति सिवाय केही हुने छैन ।

आफ्ना दोषहरु लुकाउने र बाहिर ‘सफा’ देखाउने प्रवृत्तिले क्रान्ति हुन्छ ? बाहिरबाट कोही वा केही आएर विगतको दसवर्षे जनयुद्ध र तयसका उपलब्धिहरुलाई ध्वस्त पारेका हुन् र ? क–कसको, के–के कारणले गर्दा हामी माओवादीहरु अहिले रक्षात्मक स्थितिमा पुगेका छौं भनेर कतै समीक्षा गरिएको छ ? यसको आवश्यकता ठानेका छौं कि ? फेरि पनि गल्ती नदोहोरिने स्थिति बनाउन र विगतबाट पाठ सिक्न आत्मसमीक्षा गरेको खोई ? आलोचक नबन्ने र नसहने पनि, आलोचनाको ढोका बन्द गर्ने, ‘गैरपार्टीकालाई हाम्रो विषयमा बोल्ने अधिकार छैन’ भन्ने र शुद्धीकरण तथा रुपान्तरणका सबै ढोकाहरु बन्द गरेर ‘क्रान्तिकारी हौं’ भन्दा कसले पत्याउलान् र ? पत्याइहाले पनि त्यस्ता विचारबाट केही नेता त होलान्, वर्गले चाहिँ के पाउला ? हामी वर्गप्रति कति इमानदार भयौं ? यस्ता प्रश्नै–प्रश्नका भारी बोकेर पनि कहिँ क्रान्ति हुन्छ ?

स्पष्ट छ, विगतमा तत्कालीन नेतृत्वले माओवादलाई आत्मसात् गर्न र वर्गप्रति इमानदार हुन नसकेकै हो । आलोचनाविहीन भक्त र नेतृत्वमा पुग्ने महत्त्वाकांक्षाले नेता तथा कार्यकर्तालाई नराम्ररी गाँजेको थियो । अन्धभक्त र सत्ता–महत्त्वाकांक्षाले मानिसलाई कतिसम्म गिराउँदो रहेछ भने, जनक्रान्तिमा नेतृत्व गर्ने र उत्तराधिकारी बन्ने सबै बाटाहरु नै बन्द गर्दो रहेछ । अहिले प्रचण्डको नेतृत्वमा रहेकाहरु सबैजसो नै अब क्रान्तिका लागि नालायक बनिसकेको देखिएको छ ।

अहिलेको समयमा त मालेमावादलाई आत्मसात् नगरी कम्युनिस्ट हुने कुरै हुँदैन । पुष्पकमल र बाबुरामहरु मलेमावादी हुन नसक्नुको कारण पनि यही हो । अझ त्योभन्दा अघि गएको छ समय, जनयुद्धको स्वामित्व लिन्छु भन्दै एउटा नयाँ शक्तिका नाममा विसर्जन भएको छ, अर्को एमालेमा बिलिन भएको छ । ‘माओवादी मात्र भन्दा अपुग हुने’ कुरा बुझ्छन् कोही चाहिँ । कोहीलाई चाहिँ माओवादले पुगेन रे ! फेरि कोही चाहिँ माओवादीमध्ये पनि ‘क्रान्तिकारी’ रे ! मालेमावादलाई आत्मसात् गर्न नसकेर आएका यस्ता विचलनहरु हेर्दा स्थिति जटिल बनेको स्पष्टै देखिन्छ ।

जुनकुनै नाममा बनेका अहिलेका पार्टीहरुलाई जनता वा वर्गले पत्याएका छैनन् किनकि ती पार्टीहरु वर्गीय धरातलमा छैनन्, बाहिरी पङ्क्तिबाट चर्चा–परिचर्चामा रमाइरहेका छन् । गद्दारहरुलाई वर्गदुस्मनले सम्मान गर्ने र अवसरवादीहरुले प्रशंसा गरिरहने प्रवृत्तिको पुनरावृत्ति भैरहेको छ । रायमाझीहरु दरबारको गेटमा पाले बने, भण्डारी, मनमोहन हुँदै बाबुराम–प्रचण्ड संसदका पाले भए । बाँकी अरूहरू पनि पछिल्ला दिनमा त्यस्तै नहोलान् भन्ने कुराको ग्यारेन्टीका लागि वलिदानीपूर्ण संघर्ष नै विकल्प हो भन्दै आइएको छ । यतिले मात्रै पुग्ने स्थिति नै छैन । अवसरवादीहरूले सुरक्षित र सम्मानित जीवन जिउन पाउने अवसर रहिरहेको स्थितिमा क्रान्तिमा अवसरवादी सोच र चिन्तनहरु सल्बलाउन थाल्छन् र सत्तामा अड्डा जमाउने प्रयत्नमा रहन्छन् । यस बारेमा बेलैमा गम्भीर हुनु अत्याश्यक छ ।

अहिले क्रान्तिका तीन वटा मोडलहरुबारे बहस चल्दैछन् । मोहन वैद्य ‘किरण’ ले विकास गर्न लागेको मोडल र दीर्घकालीन जनयुद्धमा देखिएका अपूर्णतालाई पूर्णता दिँदै र विकास गर्दै जाने मोडल यीमध्येको एउटा मोडल हो । यी तीन वटै मोडलहरूबारे अहिले पनि बहस आवश्यक छ । भूमिकातिर नै भनिएको छ कि क्रान्तिमा देखिएका केही गम्भीर कुराहरुले गर्दा दसवर्षे महान् जनयुद्ध विजयमा पुग्न सकेन । अहिले दुस्मनवर्गको शक्तिसन्तुलनमा केही फेरबदल आएको छ । यस बारेमा पनि सोचेर निर्णय लिनुपर्ने स्थिति छ ।

आफ्नै प्रतिबद्धताहरुमा पनि ध्यान नदिएर नेतृत्वप्रति नै पूर्णतः भरोसा राख्ने किरणको कमजोरीपछि अहिले उनले जनविद्रोहमार्फत नयाँ जनवादी क्रान्तिको बाटोमा जाने नीति लिएको दाबी गरेका छन् । निरन्तर क्रान्तिका लागि न्यूनतम वा सत्ता प्राप्तिको लक्ष्य नयाँ जनवाद छ । यो मोडलले दीर्घकालीन जनयुद्धको बाटो छाडेको छ । जनविद्रोहको नयाँ मोडल विकास गर्ने भन्ने गरिएको छ ।

विप्लवले अर्को ‘नयाँ मोडल’ रोजेका छन् । ‘एकीकृत जनक्रान्ति’ भनिएको, युद्धकै चरणमा जनवाद हुँदै वैज्ञानिक समाजवादी क्रान्ति गर्ने नीति उनले अघि सारेका छन् । दलाल तथा नोकरशाही देशमा न्यूनतम लक्ष्य नयाँ जनवाद हुँदै निरन्तर क्रान्ति गर्ने नीतिमा पनि शायद कमी छ भन्ने ठानेर होला, उनले पनि एकै पटक समाजवादमा पुग्ने, अरु कम्युनिस्ट पार्टीहरुले भन्ने गरेको ‘समाजवाद’ मा जाने कुरा ल्याएका छन् । पृष्ठभूमि हेर्दा किरणको लाइनसँग मात्रै अन्तर्संघर्ष गर्दै आएको विप्लवको मोडलले आफूलाई अभ्यासमा लगिरहेको देखिँदैछ ।

त्यस्तै, अर्को मोडल छ– दीर्घकालीन जनयुद्धबाट नयाँ जनवाद हुँदै समाजवादको दिशामा अघि बढ्ने । विगतमा दसवर्षे जनयुद्धमा मुख्य नेतृत्वले माओवादलाई आत्मसात् गर्ने सवालमा कमजोरी रह्यो । यदि त्यो कमजोरी नगरिएको भए विजय अवस्यम्भावी थियो भन्ने यो मोडलवालाहरुको दावी छ । मुख्य नेतृत्व बाहेकका अरु नेताहरु आलोचक बन्ने गुणका भैदिएका भए मुख्य नेतृत्वमा यो स्तरको विचलन आउँदैनथ्यो वा सपार्न सकिने स्तरसम्मको हुन्थ्यो भन्ने यो मोडलवालाहरुको बुझाइ छ ।

मुख्य नेतृत्वले गैरमाओवादीहरुलाई काखी च्यापेर राखिराख्न सक्ने पार्टी बन्नुमा अत्यन्तै ठूलो कमजोरी रहेको यथार्थता स्पष्ट नै छ । अन्तर्संघर्ष गर्ने क्षमता नभएका अरु नेताहरु कसरी त्यति ठूल–ठूला जिम्मेवारी (पद) मा पुग्न सकेका हुन् भनेर पनि सोच्नुपर्ने हुन्छ । पार्टी सदस्यमा हुनुपर्ने न्यूनतम योग्यता र जनवादी केन्द्रीयताको अभावमा कसरी सर्वहारा वर्गको अग्रदस्ता बन्नुपर्ने माओवादी पार्टी गैरसर्वहारा वर्गको कब्जामा पुग्यो भनेर गम्भीर बन्नुपर्ने हुन्छ ।

अहिले प्रतिक्रियावादी सत्तामा नेतृत्व फेरिएका बेला र कम्युनिस्टका नाममा अनेकन भ्रमहरु पैदा भएका बेला दीर्घकालीन जनयुद्धको विकास कसरी गर्ने भन्ने विषयमा नयाँ मोडलको विकासमा केही व्यक्तित्व तथा घटकहरु लागिपरेका छन् । उनीहरु अहिले माओवादी आन्दोलनको पुनर्गठन र दीर्घकालीन जनयुद्धको विकासमा केद्रित रहेर नयाँ मोडलको विकास गर्न क्रियाशील देखिएका छन् । यसबारे अध्ययन–अनुसन्धान गरी गति दिने प्रयत्न गर्नुपर्छ । फेरि पनि जनक्रान्तिलाई सही दिशातिर मोड्नु आजको ज्वलन्त आवश्यकता हो ।

जनक्रान्ति गर्ने र यसको नेतृत्व गर्ने सवाल फरक विषय हुन् । राज्यव्यवस्थामा परिवर्तनका लागि सशस्त्र क्रान्ति भएका इतिहासका प्रत्येक घटनाहरुमा जनताको सहयोग प्राप्त भएकै छ । ती प्रायः सफल भएका छन् । केहीमा नेतृत्व दिन तत्कालीन नेताहरू सफल भएका थिएनन् र केही सम्झौतामा गएर अर्का खालका उस्तै शासक उत्पादन भएका थिए । जनताका लागि ती सबै बेकारका झैं भएका थिए । नेतृत्व गर्नेहरु प्रायः नै अपरिचित झैं लाग्ने वा राज्यले नचिनेका व्यक्तिहरु थिए । परिचित नेतृत्वहरु असफल भएका तर अपरिचित नेतृत्वले देशमै बसेर क्रान्ति अगाडि बढाइराख्न सफलता पाएका देखिन्छन् । त्यही भएर क्रान्तिको नेतृत्व गर्ने सवालमा नेतृत्व कस्ताले गरिरहेका छन् भन्ने कुराले पनि अहम् महत्त्व राख्ने गरेको छ । जनक्रान्तिको नेतृत्व दिने सवालमा यस विषयलाई पनि ध्यान दिनु जरुरी देखिएको छ ।

माओवादीहरु हो ! गम्भीर भएर बहस–विमर्श गरौं र सही निष्कर्षमा पुगौं, जनक्रान्तिलाई सही दिशा दिऔं !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर