newskoseli.Com

अख्तियार प्रमुखको आश्वासन : ‘नेता, उच्चपदस्थसहित ‘पहुँचवाला’ को सम्पत्ति छानबिन भैरहेछ’

अकुत सम्पत्ति कमाएर राज्यको ढुकुटीमाथि ब्रह्मलूट मच्चाएका ‘ठूला र पहुँचवाला’ हरुमाथि आफूहरुले छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

एक सय जनामाथि निरन्तर अनुसन्धान भैरहेको अख्तियारको दावी छ । आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा बोल्दै छानबिनमा राजनीतिक नेताहरुदेखि उच्चपदस्थ कर्मचारी र पूर्वपदाधिकारी समेत रहेको बताएका छन् ।

ठूलठूला घोटालाहरुलाई देखेर पनि नदेखे झैं गर्दै स–साना घुसको मात्रै पछि लागेको भनी अख्तियार नेतृत्वको आलोचना भइरहेका बेला अकुत सम्पत्ति आर्जन गर्ने ‘पहुँचवाला’ हरुमाथि पनि छानबिन थालिएको जानकारी अख्तियार प्रमुख घिमिरेले ‘मिनि संसद’ भन्ने गरिएको समितिमा दिएका हुन् ।

अख्तियार नेतृत्वमाथि कसैको दबाब र कुनै प्रभाव समेत नरहेको दाबी गर्दै दोषी पाइए कसैलाई पनि नछाडिने घिमिरेले बताए । अख्तियार चुप लागेर नबसेको भन्दै अकुत सम्पत्तिका विषयमा प्रारम्भिक छानबिन भइरहेको उनले बताए ।

अख्तियार हजार रुपैयाँ घुसको पछि लाग्ने गरेको तर अर्बौंको राज्यकोष लुट्नेले उन्मुक्ति पाइरहेको भन्दै सांसदहरुले जिज्ञासा राखे । सांसदहरु प्रेम सुवाल र दिलेन्द्रप्रसाद बडूले ‘नेताहरुको सम्पत्ति छानबिन नगर्न अख्तियारलाई दबाब पर्ने गरेको हो’ भन्दै प्रश्न सोधे । सांसद विजय सुब्बाले ‘राष्ट्रपति–प्रधानमन्त्रीकै तलब गाडी किन्न पुग्ने छैन भने सबै नेताका गाडी कहाँबाट आए र त्यो पैसाको स्रोत के हो’ भन्दै प्रश्न गरे । विलासी जीवनशैली बिताउने नेताहरुमाथि अख्तियारले छानबिन नगरेकामा उनले असन्तुष्टि पोखे ।

प्रमुख आयुक्त घिमिरेले अख्तियार कसैको दबाब र प्रभावमा नपरेको र भविष्यमा समेत नपर्ने भन्दै अनुसन्धान हतारमा नहुने बताए । यसका लागि समय लाग्ने भएकाले धैर्य गर्न समेत उनले सांसदहरुलाई आग्रह गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर