newskoseli.Com

चित्रबहादुरको आक्रोश : ‘नागरिकता विधेयक खारेज नगरे देशै खतरामा !’

पूर्व उपप्रधानमन्त्री समेत रहेका राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् नेकपा (मसाल) का वरिष्ठ नेता चित्रबहादुर केसीले अहिले संसदमा छलफल चलिरहेको नागरिकता विधेयक तत्काल खारेज नगरे नेपाल राष्ट्र नै खतरामा पर्ने दावी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत उक्त विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने चेतावनी दिए । ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ तर मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ,’ उनले भने– ‘यो अत्यन्तै गम्भीर र गलत कुरा हो, यसलाई तत्काल खारेज गर्नुपर्छ ।’

सोही विषयकेन्द्रित विधेयकमाथि संसदमा गम्भीर ढंगले छलफल चलिरहेको र पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भीर भएको बताउँदै यसमा आफ्नो पार्टीको आपत्ति र गम्भीर विमति रहेको उनले बताए । उक्त विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट बञ्चित गराउने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिने काम गरेको आरोप नेता केसीले लगाए ।

नेकपाका दुवै जना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हालै तराईमा पुगेर नागरिकता विधेयकबारे गलत टिप्पणी गरेको भन्दै केसीले आपत्ति जनाए । ‘यस्तो खालको विधेयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं,’ उनले भने– ‘र, विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित् छ ।’ कांग्रेस, एमाले, माओवादी, राप्रपा जसको नेतृत्वमा नेपालमा सरकार बने पनि ती सबैले विदेशीहरुलाई नागरिकता दिन बाटो खोलिदिने गरेको आरोप समेत नेता केसीले लगाए ।

संसदमा प्रस्तुत भएअनुसार नै नागरिकता विधेयक पारित भए विदेशीहरु वा आगन्तुकहरुले नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख, प्रधान न्यायाधीशलगायतका महत्त्वपूर्ण पदमा पुग्नका निम्ति बाटो खुल्ने टिप्पणी उनले गरे । केसीले भने– ‘त्यसैले यो विधेयक कुनै पनि हालतमा पारित गर्नुहुँदैन, खारेज नै गर्नुपर्छ ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले नागरिकता विधेयक संसदमा छलफलकै क्रममा रहेकाले अहिल्यै टीकाटिप्पणी गर्नु नहुने दावी गरे । उनले भने– ‘संविधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको छ, छलफलमै भएकाले यसबारेमा अहिल्यै टीकाटिप्पणी गर्न चाहन्न ।’

वर्तमान सरकारले सुधारोन्मूख काम गरिरहेकोमा विश्वास्त हुन नेता गुरुङले आग्रह गरे । ‘सरकारको काम सुधारोन्मूख छ, सरकारप्रति जनताका आशा र अपेक्षा धेरै हुन सक्छन्,’ गुरुङले भने– ‘अहिलेको परिस्थिति हेर्दा सुधारोन्मूख नै रहेको देखिन्छ, अहिले आमूल परिवर्तनको अपेक्षा गर्ने खालको परिस्थिति पनि छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर