newskoseli.Com

यस्तो छ विप्लवको नयाँ रणनीति : ‘युद्धकालीन शैली’ र ‘फौजीकृत’ संगठन, केन्द्रीय समिति ६१ बाट ४१ मा, को–को हटे केन्द्रबाट ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो संगठनात्मक संरचनालाई केन्द्रदेखि आधारभूत तहसम्म बिस्तारै ‘युद्धकालीन शैली’ मा ढाल्दै र ‘फौजीकृत’ गर्दै लगिरहेको बुझिएको छ ।

संगठनात्मक संरचनालाई ‘कसिलो’ र व्यवस्थित पार्दै तथा आन्तरिक सञ्चार प्रणाली र संयन्त्रलाई चुस्त पादै गएपछि सरकारले लगाएको ‘प्रतिबन्ध’ का सुरुआती दिनमा भएको तीव्र गिरफ्तारीको सिलसिला स्वात्तै घटेको सो पार्टीका एक नेताले बताए । करिव दुई वर्षअघि रोल्पाको थवाङमा ८औं महाधिवेशन गरेर त्यहींबाट चयन भएका केन्द्रीय समितिका करिव दुई दर्जन नेता अहिले सो पार्टीको केन्द्रीय समितिमा छैनन् ।

पटक–पटक पार्टीका सूचना र दस्तावेज बाहिरिएको सूचना महासचिव विप्लवसमक्ष लगातार पुगिरहेपछि पार्टीको सेट र संरचना युद्धकालीन शैलीमा ढालिएको उनले बताए । २०७३ फागुनमा थवाङमा भएको ८औं महाधिवेशनले पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ कायम गर्दै ६१ सदस्यीय केन्द्रीय समिति चयन गरेकोमा अहिले तीमध्ये ४१ जना मात्र केन्द्रीय समितिमा कार्यरत रहेको बताइएको छ ।

८औं महाधिवेशनबाट केन्द्रीय समितिमा चयन भएकामध्ये शरदसिंह भण्डारी, झकबहादुर मल्ल ‘सुदीप’, राजेन्द्र कार्की ‘नवीन’, टेकबहादुर बलम्पाखी, जीवन खड्का ‘गगन’, महेश केसी ‘पारसमणि’ लगायतले पहिल्यै सो पार्टी छाडिसकेका थिए । त्यसैगरी केही नेता भने उमेर र स्वास्थ्यका कारण समेत केन्द्रीय भूमिकामा क्रियाशील नरहेको बताइएको छ । तत्कालीन कोसी ब्युरो इन्चार्ज किरण राई, महाकाली ब्युरोकी सम्झना घर्ती, किसान मोर्चाकी अध्यक्ष सविता सिंह र नारायण महर्जन अहिले केन्द्रीय भूमिकामा नरहेको बताइन्छ ।

यतिबेला क्रियाशील ४१ सदस्यीय केन्द्रीय समितिमध्येबाट स्थायी समिति सदस्य तथा मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’, पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’, केन्द्रीय सदस्यद्वय वसन्त श्रेष्ठ ‘प्रज्ज्वलन’ र बन्धु चन्द पक्राउ परेर सरकारी हिरासतमा छन् । सरकारको कठोर व्यवहार र तीव्र धरपकडको वर्तमान स्थितिमा पार्टी र नेतृत्वले आफ्नै पार्टीभित्र समेत कतिपय नेता–कार्यकर्तामाथि ‘निगरानी’ र तिनका व्यवहारप्रति ‘क्रसचेक’ गर्दै आएको बताइन्छ ।

सरकारका तर्फबाट गृहमन्त्रालय र प्रधानमन्त्री स्वयंले नेकपामाथि ‘चैतभित्र हतियार बोकेर लुरुलुरु आत्मसमर्पण गर्न आउनू’ भन्दै चेतावनी दिइसकेको अनि नेकपा र विप्लवले पनि ‘चैतभित्र प्रतिबन्ध नहटाए कडा कदम चालिने’ चेतावनी दिइसकेकाले नयाँ वर्ष, २०७६ को सुरुआतसँगै मुलुक नयाँ चरणको तीव्र द्वन्द्वको नयाँ अध्यायमा प्रवेश गर्ने अड्कलबाजी सर्वत्र गरिँदै आएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर