newskoseli.Com

मोहन वैद्यको उदघोष : ‘बन्दुक उठाइन्छ, विप्लवलाई तानेरै भए पनि एकतामा ल्याइन्छ’ (भिडियोसहित)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध जनगणतन्त्र अर्थात् संघीय गणतन्त्रको स्थापनाका निम्ति बन्दुक उठाइने चेतावनी दिएका छन् ।

नेपालमा कम्युनिस्टहरुको भविष्य समुज्ज्वल भएको बताउँदै उत्पीडित वर्गको राज्यसत्ता स्थापनाका निम्ति सच्चा कम्युनिस्ट र माओवादीहरुबीच एकता अनिवार्य भएकोमा उनले जोड दिएका छन् । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आफूहरुको सबैभन्दा नजिकको पार्टी भएको बताउँदै ऊसँग एकता अपरिहार्य रहेको र आफूहरुले तानेरै भए पनि एकतामा ल्याइछाड्ने जिकिर समेत महासचिव किरणले गरेका छन् ।

संसदीय एवं वैधानिक संघर्ष तथा चुनावको उपयोग र बहिष्कारजस्ता प्रश्न कम्युनिस्टहरुका लागि निर्णायक सवाल नभएको बताउँदै तत्कालीन समय–परिस्थितिको आवश्यकताअनुसार उपयोग वा बहिष्कार दुवै गर्न सकिने र गर्नुपर्ने उनको भनाइ छ । अहिल्यै र तत्कालै क्रान्ति भईनहाल्ने र त्यसका निम्ति गम्भीर एवं व्यापक तयारी गर्नुपर्ने बताउँदै सामन्तवाद र संसदवादको अन्त्यका निम्ति क्रान्तिकारीहरुले बन्दुक उठाउने र त्यसो गर्नु जनताको अधिकार हुने उनले बताए ।

ऐतिहासिक जनआन्दोलन, २०४६ को सर्वाधिक उत्कर्षको दिन एवं क्रान्तिकारी पंक्ति र जनसमुदायका तर्फबाट उक्त आन्दोलनमा सबैभन्दा बढ्ता वलिदान भएको दिनका रुपमा २९ वर्षयता माओवादी घटकहरुले मनाउँदै आएको चैत २४ को जनआन्दोलन दिवसको सन्दर्भ तथा क्रान्तिकारी माओवादी नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाको प्रथम राष्ट्रिय सम्मेलनको उदघाटन मन्तव्य राख्ने क्रममा महासचिव वैद्यले उक्त अभिव्यक्ति दिएका हुन् ।

राजधानीको भृकुटीमण्डपमा आयोजित उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव किरणले गोपाल किराती नेतृत्वको माओवादी केन्द्र, विश्वभक्त दुलाल ‘आहुति’ नेतृत्वको समाजवादी कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल), नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र आफू नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकताका निम्ति निकै मेहनत गरिसकेको बताए । त्यो मेहनत अझै नपुगेकाले झन् बढी मेहनत गरेर माओवाद र माओ विचारधारा मान्नेहरुबीचको एकताबाट शक्तिशाली क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता उनले प्रकट गरे ।

नेपालमा कम्युनिस्टहरुको भविष्य समुज्वल रहेकाले कम्युनिस्टहरु निराश र हतास हुनु नहुने बरु क्रान्तिकारी आशावादिता उच्च राख्नुपर्ने उनले बताए ।

भिडियोमा हेर्नोस् महासचिव वैद्यको पूरा सम्बोधन– (भिडियो सौजन्यः रामेश्वर तिमल्सिना, नयाँ शैली मिडिया प्रा.लि.)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर