newskoseli.Com

विप्लवले गरे वैशाख ५ मा नेपाल बन्दसहित प्रधानमन्त्रीलाई नै ‘प्रतिबन्ध’ को घोषणा !

सरकारले गत महिनाको अन्तिम साता ‘प्रतिबन्ध’ लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वैशाख ६ गतेदेखि लागू हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ‘प्रतिबन्ध’ लगाइने घोषणा गरेको छ । सो पार्टीले नयाँ वर्ष, २०७६ को सुरुआतसँगै वैशाख ५ मा नेपाल बन्दको समेत आह्वान गरेको छ ।

सोमबार दुई पृष्ठ लामो प्रेस विज्ञप्ति प्रेषित गर्दै नेकपाका महासचिव विप्लवले चैत २६ देखि वैशाख ५ सम्मका लागि विभिन्न कार्यक्रम घोषणा गरेका छन् । घोषित कार्यक्रम अनुसार चैत २६ देखि २९ सम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोर, वैशाख २ गते कोणसभा, वैशाख ३ गते अन्तर्क्रिया, वैशाख ४ गते मशाल जुलुस र वैशाख ५ गते नेपाल बन्द रहेका छन् । नेपाल बन्दलगत्तै वैशाख ६ गतेदेखि प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी ‘प्रतिबन्धित’ गर्ने घोषणा समेत महासचिव विप्लवले गरेका छन् ।

यस्तो छ महासचिव विप्लवको विज्ञप्तिको पूर्णपाठ–

नेपाली जन क्रान्ति र राष्ट्रिय राजनीतिमा ‘एउटा मजाक’को प्रतिनिधि केपी ओली र पिके दाहालले नेतृत्व गरेको कथित नेकपा (नेकपा)को ओली सरकारले नेपाली स्वाभिमानी एवं श्रमजीवी जनताको प्रतिनिधि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी र यसका राजनैतिक एवं जनसेवाका कार्यक्रम माथि गत फाल्गुण २८ गते राती अंकुश लगाउने निर्णय गर्यो । त्यस पछि लगतै ओली सरकारले फरमान जारी गर्यो कि ३५ दिनको हदम्याद भित्र आत्मसमर्पण गर नत्र ७७ वटै जिल्लामा ४ वटै सुरक्षा निकायको परिचालनमा अप्रेशन चलाएर नियन्त्रयण गरिने छ । त्यसका निम्ति सुरक्षा निकायलाई नेपाल कम्युनिष्ट पार्टीका नेता र कार्यकर्तालाई गोली हान्ने आदेश समेत दिइसकिएको छ । जसको परिणाम कपिलवस्तु शिवपुर निवासि दुर्गाबहादुर रोकाको राती ३ बजे घर घेराहाली घरबाट लखेटेर गिरप्तार गरेपछि चनद्रोटा ईलाका प्रहरी कार्यालयको शौचालयमा लगेर पछाडिबाट गोलीहानी घाइते बनाईयो । काभ्रेको काफल डाँडामा युवा कार्यक्रतामाथि गोली चलायर गिरप्तार गर्यो । बाटोमा यात्रा गरिराखेको बेला स्थायी समिति सदस्य क. सुदर्शन सहित ९ जनालाई गिरप्तार गर्यो । फाल्गुण २८ गते पछि देशैभरी नेता र कार्यक्रता गरी दर्जनौंको संख्यामा गिरप्तारी गरि गरिसकेको छ । घरमा सुतिराखेका जनता, पार्टीकाम खटीराखेका नेता र कार्यक्रतालाई गिरप्तार गर्ने र झुट्टा मुद्दामा फसाउने कार्य बेलगाम छ । गाउँमा सुरक्षा निकायको अप्रेशनको आतंक छ । ओली सरकार र रामबहादुर थापा गृह प्रशासनको हाम्रो पार्टी र नेपाली जनताका क्रान्तिकारी कार्यक्रम एवं क्रियाकलापका विरुद्धको पागलपूर्ण राजनैतिक वकवास फासिवादी फौजी दमन र अफवाहपूर्ण प्रचारबाजीको हाम्रो पार्टी घोर निन्दा एवं भर्त्सना गर्दछ । यसको दृढताका साथ प्रतिरोध गर्न सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा पार्टी विशेष अपिल गर्दछ ।

नेतृत्वको गद्धारी, विचलन्ता र धोकाधडीका कारण नेपाली जनयुद्ध र जनआन्दोलनहरु अपूर्णतामा टुङ्गिए पनि अहिले देशमा जुन राजनैतिक परिस्थिति सृजना भएको छ र उपलब्धीहरु हासिल भएका छन् । त्यो १० वर्षको नेपाली जनयुद्धको नेतृत्व र जनआन्दोलनको सहयोगको योगमा हासिल भएका छन । यो नेपाली राजनैतिक आन्दोलन र विगतको नेपालको क्रान्तिकारी आन्दोलनको अकाट्य सत्य हो । ०६२-०६३ पछि शान्ति प्रक्रिया र वार्ताको नाममा नेपाली जनयुद्ध, माओवादी पार्टी, जन आन्दोलन, जनयुद्धको विचार, राजनैतिक कार्यक्रम र क्रान्तिको पूर्णताका विरुद्ध देशी विदेशी प्रतिक्रियावादी सड्यन्त्र हुन थालेपछि वैदेशिक साम्राज्यवाद, संसदीय प्रतिक्रियावाद र प्रचण्ड मण्डलीको आत्मसमर्पणवादविरुद्ध जीवनमरणको संघर्षबाट जन्मेको हाम्रो पार्टी नेपाल कम्युष्टि पार्टी हो । यो पार्टीको काँधमा १० वर्षका जनयुद्ध र १९ दिनको जनआन्दोलनको राजनैतिक उपलब्धीहरुको रक्षा गर्नु, शान्ति एवं वार्ताका वाहानामा नेपाली क्रान्ति र परिवर्तनका विरुद्ध भएका सड्यन्त्रहरुको प्रतिवाद गर्नु र देशको मुक्ति एवं नेपाली श्रमजीवी जनताको राज्यसत्ताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने जिम्मेवारी र कर्तव्य रहेको छ । उपरोक्त उद्देश्यको निम्ति आफ्नो स्थापनाकाल देखि हाम्रो पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशाको दिशा निर्देशमा नेपाली क्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । यो आफ्नो द्येयमा तिव्रगतिमा अगाडि बढिराखेको छ ।

२०२८ सालको झापा विद्रोहका जनताका हतियार कोशी नदीमा फ्याकेको, ०४६ सालको जनआन्दोलनमा सामन्तवादसँग आत्मसर्पणवादी सम्झौता गरी जनतालाई धोका दिएको, ०५२ सालमा शुरु भएको जनयुद्धका १० वर्षमा माओवादी र जनयुद्धलाई आतंककारी हत्यारा भनि उछित्तो काट्ने र दमनमा सबै संसदीय प्रतिक्रियावादीलाई उछिन्ने र ०६२-०६३ पछि जनयुद्ध, माओवादी र परिवर्तनका मुद्दाका विरुद्ध सबभन्दा बढी सड्यन्त्र गर्ने ओली गिरोह विगतका नेपाली क्रान्ति र जन आन्दोलनको विरुद्धमा खडा हुने र दमन गर्ने शासकहरुलाई मात गर्दै हाम्रो पार्टी र यसको नेतृत्वमा संचालित एकीकृत जनक्रान्तिका विरुद्ध खनिएको छ । त्यसमा पिके दाहाल पनि सति गएका छन । यो गिरोह दलाल पूँजीपति वर्गको स्वार्थ र साम्राज्यवादी मालीकको सेवाका निम्ति विगतको जनयुद्ध र जनआन्दोलनका उपलब्धीहरुलाई निमिट्यान्न पार्ने, राष्ट्र घात, जन घात, भ्रष्टचार, कमिशन, मानव बेचविखन, हत्या, आतंक, वलात्कारलाई लोकतान्त्रीक गणतन्त्र र संविधान कार्यन्वयनको जामा पहिराउने धृष्टता गरिराखेको छ । यस बाट पुराका पुरा सर्तक रहन देशभक्त एवं परिवर्तनकामी राजनैतिक शक्ति र आम नेपाली जनतामा हाम्रो पार्टी विशेष अपिल गर्दछ ।

नेपाल कम्युनिष्ट पार्टी नेपाली जनता जनयुद्ध एवं आन्दोलनको उपलब्धीहरुको हकदार, शान्ति, वार्ता र सम्झौताको नाममा देश, जनता र क्रान्तिलाई भएको धोकाको प्रतिवाद गर्ने पार्टी र एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत नेपाली क्रान्तिलाई अगाडि बढाईराखेको पार्टी हो । इतिहासमा जनआन्दोलन र जनयुद्धमा देश र नेपाली जनतामाथि घात, धोका, वेइमानी, छलकपट र अपराधको प्राय केपी पिके गिरोह र केपी सरकारले हाम्रो पार्टी एकीकृत जनक्रान्ति र नेपाली जनतालाई नजिस्क्याउन चेतावनी दिन्छ । नेपाल राष्ट्र र नेपाली जनताको यो हवीगत बनाउने दलाल पूँजीपति वर्ग र त्यसको प्रतिनिधित्व गर्ने ओली सरकारको फासिवादी दमनको नेपाली जनतासहित हाम्रो पार्टीले शक्तिशाली प्रतिवाद गर्ने छ । त्यसबाट निस्कने भयवह परिणामको जिम्मेवार केपी-पिके गिरोह र ओली सरकार हुने छ । हाम्रो पार्टीमाथि प्रतिवन्ध लगाएर वा क्रान्तिमाथि दमन गरेर जन क्रान्तिलाई सिध्याउला वा आत्मसर्पण गराउला भन्ने भ्रमपूर्ण मनोदशाबाट मुक्त रहन समेत ओली सरकारलाई पार्टी स्पष्ट गर्न चाहन्छ ।

अतः जन क्रान्ति र नेपाली जनतामाथीको ओली सरकारको फाँसीवादी दमनको प्रतिरोध गर्न निम्न संघर्षका कार्यक्रमहरु घोषणा गरिएको छ । यसको प्रभावकारी सफलताको निम्ति सिङ्गो पार्टी पंक्ति र आम नेपाली जनतामा सकृय सहभागीताको विशेष अनुरोध गर्दछौं ।

कार्यक्रम
१) चैत्र २६-२९ सम्म प्रतिवन्धविरुद्ध पर्चा वितरण र भण्डाफोर
२) वैशाख २ गते – कोण सभा
३) वैशाख ३ गते – अन्तरक्रिया
४) वैशाख ४ गते – मशाल जुलुस
५) वैशाख ५ गते – नेपाल बन्द
६) वैशाख ६ गतेबाट केपी ओली सहभागी हुने देशका विभिन्न भागका कार्यक्रमहरुमा बन्दको आयोजना गरी सामाजिक दलालहरुलाई प्रतिबन्धित गर्ने । धन्यवाद ।
२५ चैत्र २०७५

विप्लव
(महासचिव)
नेपाल कम्युनिस्ट पार्टी

 

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर