newskoseli.Com

विप्लवका नेता हेमन्तप्रकाश छुटाउन दिइएको रिट सर्वोच्चद्वारा खारेज

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका मध्यकमान्ड इन्चार्ज हेमन्तप्रकाश ‌ओली ‘सुदर्शन’ की छोरीले दर्ता गराएको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंक मोक्तानको संयुक्त इजलासले ओलीकी छोरी विपनाद्वारा दायर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनलाई खारेज गर्ने फैसला बुधबार गरेको हो । नेता ओलीलाई बुधबार नै सर्वोच्चमा उपस्थित गराइएको थियो ।

नख्खुस्थित एनसेलको कार्यालय अगाडि फागुन १० मा गराइएको बम बिस्फोटको जिम्मा लिएका नेकपाका स्थायी समिति सदस्य ओलीलाई प्रहरीले चैत ९ मा पक्राउ गरेको थियो । छोरी विपनाले आफ्ना बुबालाई प्रहरीले गैरकानुनी थुनामा राखेकाले थुनामुक्त गर्न आदेश माग गर्दै चैत १३ मा सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

नख्खु विस्फोटमा परेर लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो । विस्फोटमा ललितपुर– ४ की २६ वर्षीया प्रतीक्षा खड्का र बनेपाकी २५ वर्षीया उरुसा मानन्धर घाइते भएका थिए । प्रहरीका अनुसार नख्खुमा टाइम बम राखिएको थियो । सोही दिन कमलपोखरीको आँगन मिठाइ पसल अगाडि रिमोट कन्ट्रोलबाट चल्ने प्रेसर कुकर बम समेत राखिएको दावी प्रहरीले गरेको थियो ।

नेता ओलीलाई प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका– ४, बरूणबेंसीबाट चैत ९ गते बिहान सबेरै पक्राउ गरेको थियो । नख्खु विस्फोटको जिम्मेवारी लिएसँगै नेता ओली प्रहरीको सर्वाधिक खोजीमा परेका थिए । महानगरीय प्रहरी अपराध महाशाखा, काभ्रे प्रहरी र विशेष ब्युरोको टोलीले उनीसहित विप्लव नेतृत्वको नेकपाका ८ जना नेता–कार्यकर्तालाई एकैसाथ पक्राउ गरेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीको चौथो वरियतामा रहेका नेता ओली कार्यकर्तासहित काठमाडौं आउँदै गर्दा बाटैमा पक्राउ परेको प्रहरीले जनाएको छ । काठमाडौं आउने क्रममा प्रहरीले सवारी साधन चेकजाँच गर्दा नेता ओलीसहित धर्म राजवाहक, रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर