newskoseli.Com

कक्षा १२ को बोर्ड परीक्षा वैशाख १५ देखि, कक्षा ११ को वैशाख २९ देखि

२०७६ को कक्षा १२ को अन्तिम परीक्षा आइतबार बिहान ७ बजेदेखि हुने जानकारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले दिएको छ ।

बोर्डको कार्यालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कक्षा १२ को साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा आइतबार (१५ वैशाख) देखि सुरु भई २६ वैशाखमा समाप्त हुनेछ । कक्षा १२ को परीक्षामा बोर्डबाट सम्बन्धन प्राप्त ४ हजार १ सय ३७ विद्यालयका ४ लाख २८ हजार ५२ जना परीक्षार्थी सहभागी हुनेछन् ।

त्यसैगरी, कक्षा ११ को साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा वैशाख २९ देखि सुरु भई जेठ ८ मा समाप्त हुने जानकारी बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले दिए । कक्षा ११ को परीक्षामा भने ५ लाख ८ हजार ४ सय ९४ जना परीक्षार्थी सहभागी हुनेछन् । ११ र १२ दुवै गरी जम्मा ९ लाख ३६ हजार ५ सय ६ जना परीक्षार्थी सहभागी हुने भएका छन् । यीमध्ये ४ लाख ४२ हजार ९ सय ९७ छात्र र ४ लाख ९३ हजार ५ सय ४९ जना छात्रा परीक्षार्थी रहेको प्रा.डा. पौडेलले बताए ।

परीक्षामा सबैभन्दा कम मनाङबाट कक्षा ११ को परीक्षामा ५१ जना र कक्षा १२ मा ५९ जना सहभागी हुनेछन् भने सबैभन्दा धेरै काठमाडौंबाट कक्षा ११ मा ७१ हजार ५ सय २७ र कक्षा १२ मा ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन् ।

११ र १२ को परीक्षाका लागि देशभर कूल १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरिएका छन्, जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १ सय २२ वटा र सबैभन्दा कम मनाङ–मुस्ताङमा १–१ वटा मात्रै केन्द्र निर्धारण गरिएको जानकारी बोर्डले दिएको छ ।

विगतका वर्षमा जस्तै कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ । कारागार वा बाल सुधारगृहमा रहेका परीक्षार्थीहरुलाई समेत परीक्षा दिने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर