newskoseli.Com

बालुवाटारको जग्गा ३३४ टुक्रामा निजी, बैंकमा राखेर ३० अर्ब ऋण, राष्ट्रबैंक बेखबर

व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्र गतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तिमा ३ सय ३४ कित्तामा चिरा पारिएको छ ।

जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिव ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानी समेत संकटमा परेको छ । डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ । अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३ सय ३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । भेटिएको जग्गा मालपोतले रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ ।

व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो– ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’

भूमाफिया आफैंले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न वाणिज्य बैंकबाट ऋण लिएका छन् । ठूलो रकम इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआईसी एसिया बैंक र एसबीआई बैंकबाट निकालिएको मालपोत स्रोतले जनाएको छ । सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक बेखबर छ । कति जग्गा धरौटीमा राखेर कति रकम निकालिएको छ भन्ने जानकारी नभएको राष्ट्र बैंकले बताएको छ ।

अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बताएको खबर पुष्प ढुंगानाको बाइलाइनमा सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर