newskoseli.Com

वैशाख २० मा सरकारको नीति कार्यक्रम, यस्तो छ सरकारको तयारी

केपी ओली नेतृत्वको वर्तमान ‘वाम’ सरकारले २० वैशाख, २०७६ मा आफ्नो दोस्रो पटकको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

सरकारले आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम वैशाख २० मा राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत गर्ने भएको हो । उक्त दिन नीति तथा कार्यक्रमको प्रस्तुतिका निम्ति आवश्यक प्राविधिक तयारीका लागि सरकारले संघीय संसद् सचिवालयलाई सूचित गरिसकेको छ ।

विगतका अभ्यास हेर्ने हो भने सामान्यतया प्रि–बजेट छलफलपछि मात्र सरकारको नीति तथा कार्यक्रम ल्याउने गरेको पाइन्छ । तर, यस पटक भने उक्त ‘संसदीय अभ्यास’ विपरीत पहिलो पटक नीति तथा कार्यक्रम ल्याउन लागिएको हो । नीति तथा कार्यक्रम पेस गर्नुअघि सरकारका तर्फबाट अर्थमन्त्रीले कर बाहेक विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता पेस गर्ने प्रचलन रहिआएको छ ।

वैशाख २० मा नीति तथा कार्यक्रम प्रस्तुतिको तय भएको जानकारी राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले दिएका छन् । फुयाँलले भने– ‘नीति तथा कार्यक्रमको तयारीका लागि औपचारिक रुपमा जानकारी आएको छ । वैशाख २० मा संघीय संसदमा नीति तथा कार्यक्रम पेस हुन्छ ।’
नीति तथा कार्यक्रम पारित भएसँगै प्रधानमन्त्री केपी शर्मा ओली कम्बोडिया र भियतनाम भ्रमणका जाँदै छन् । वैशाख २६ देखि प्रधानमन्त्रीको भ्रमण हुने भनिए पनि औपचारिक रुपमा मिति सार्वजनिक भएको छैन ।

सरकारले नीति तथा कार्यक्रममा नै बजेटका प्राथमिकता र सिद्धान्त समेत पेस गर्नेछ । नीति तथा कार्यक्रममा आधारित भएर वार्षिक बजेट पेस गर्ने प्रचलन छ । नीति तथा कार्यक्रम सामान्यतः ‘जनप्रतिनिधि’ हरूले पेस गरेका सुझाव समेतको आधारमा तयार पारिन्छ । प्रि–बजेट छलफलका क्रममा ‘जनप्रतिनिधि’ हरूले बजेटका सिद्धान्त र कार्यक्रमबारे सुझाव दिने प्रचलन छ । सोही सुझाव समेत समेटेर नीति तथा कार्यक्रम ल्याउने यसअघिको प्रचलन छ ।

यसअघि आ।व। २०७४–०७५ मा पनि प्रि–बजेट छलफलबिना नै नीति तथा कार्यक्रम संसदमा पेस गरिएको थियो । स्थानीय तहहरुको पुनर्संरचनाको विषयलाई लिएर तत्कालीन प्रतिपक्षी दल नेकपा (एमाले) ले निरन्तर सदन अवरोध गरेपछि प्रि–बजेट छलफल हुन नसकेकाले प्रि–बजेट छलफलविनै नीति तथा कार्यक्रम ल्याइएको थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर