newskoseli.Com

सत्ताधारी नेकपा : पोलिटब्युरो, विभागहरु र जवसको कहिले सकिन्छ एकता ?

कयौं महत्त्वपूर्ण कामहरु अझै बाँकी, एकताले केही समय पूर्णता नपाउने

गतवर्ष जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकताले अझै केही समय पूर्णता पाउन नसक्ने देखिएको छ । समग्र पार्टी एकताका कयौं महत्त्वपूर्ण कामहरु अझै बाँकी नै छन् ।

हाल दुई जना अध्यक्ष र महासचिव बाहेक अरु कुनै पनि नेता–कार्यकर्ताले वाछप्एमा ठोस जिम्मा, भूमिका र कार्यक्षेत्र नपाएको गुनासो बढिरहेका बेला गठन भएका प्रदेश र जिल्ला कमिटीहरुका कारण पार्टीपंक्तिको ठूलै हिस्सा ‘इन्गेज’ त भएको छ तर अझै पनि निकै धेरै नेता–कार्यकर्ताले भूमिका र जिम्मेवारी पाउन सकेका छैनन् । पोलिटब्युरोको गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, केन्द्रीय विभागहरुको गठन र २१ वटा जनवर्गीय संगठनहरुको एकताजस्ता पार्टी एकता प्रक्रियाका मुख्य बाँकी काम छन् ।

तीव्र विवाद र लामो रस्साकस्सीपछि केही दिन अघि मात्र जिल्ला अध्यक्ष र सचिवहरुको टुंगो लगाएको नेकपाले अलि अघि मात्रै प्रदेशका इन्चार्ज र सचिवहरुको चयन गरेको थियो । प्रदेश नेतृत्वको चयन पनि तीव्र रुपले विवादित नै बन्यो । सर्वसम्मत ‘क्राइटेरिया’ निर्धारण गरेर जिल्ला नेतृत्व चयन गरिएकाले त्यो चाहिँ उतिसाह्रो विवादको विषय त बनेन तर प्रदेश कमिटीका सदस्य अध्यक्ष र केन्द्रीय कमिटीका सदस्यचाहिँ सचिव बन्नेजस्तो असंगत स्थिति भने धेरैतिर देखियो ।

९ वैशाखमा लेनिन दिवस र पार्टी स्थापना दिवस माउने क्रममै जिल्ला नेतृत्वको घोषणा गर्दा नेताहरुले ‘फलामे ढोका’ तोडिएको र अब एकता प्रक्रियाका बाँकी काम अत्यन्त सहजै र एकदम छिट्टै टुंग्याइने बताएका थिए । तर, बाँकी ती काम न त्यति छिट्टै सम्भव भए न त भनेजस्तो सहजै टुंगिने स्थिति नै देखापरेको छ ।

११ वैशाखमा चीन भ्रमणमा गएका वरिष्ठ नेता माधवकुमार नेपाल १५ वैशाखमा स्वदेश फर्केर फेरि १६ वैशाखमै अमेरिका हान्निएका छन् । उनी नफर्केसम्म सचिवालयको बैठक बस्ने र एकताका बाँकी काम टुंगिने सम्भावना नभएको नेताहरुको भनाइ छ । फेरि, २० वैशाखमा संयुक्त सदनमा राष्ट्रपतिमार्फत सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने र १५ जेठमा बजेट–वक्तव्य प्रस्तुत गर्नुपर्नेजस्ता सरकारी कामको चटारोका कारण पनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आन्तरिक संगठनात्मक विषय र पार्६ी एकताका काममा पर्याप्त ध्यान दिइहाल्न गाह्रो परिरहेको छ ।

यस अघिका एकतासम्बन्धी निर्णय शीर्ष नेतृत्व तथा सचिवालय तहबाट मात्रै टुंग्याइएको र लामो समयदेखि स्थायी समितिको बैठक समेत नबसेकोमा पनि धेरै नेता असन्तुष्ट छन् । त्यसैले माधव नेपाल अमेरिकाबाट फर्केर सचिवालय बस्ने, त्यसपछि स्थायी कमिटीको बैठक राखिने अनि मात्रै बाँकी एकता टुंगिने स्थितिमा जेठ ३ को समयसीमा घर्कने स्थिति देखिँदैछ । यद्यपि अधिकांश नेताहरु केन्द्रमा पार्टी एकता भएको एक वर्ष ननाघ्दै पार्टी एकताका बाँकी काम टुंग्याइने दावी गरिरहेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर