newskoseli.Com

सङ्घीय गठबन्धनले घाेषणा गर्‍यो तेस्रो चरणको आन्दोलन (कार्यक्रमसहित)

राजधानी केन्द्रित आन्दोलन गर्दै आएको संघीय गठबन्धनले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। दोस्रो चरणको आन्दोलनका कार्यक्रम आज सकिएपछि गठबन्धनले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको हो ।

गठबन्धनका संयोजक उपेन्द्र यादवले वक्तव्यमार्फत २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन, साहित्यिक कार्यक्रम गर्नेलगायतका कार्यक्रम सार्वजनिक गरेका हुन् ।

 गठबन्धनको वक्तब्य

प्रतिगामी तथा विभेदकारी संविधान विरुद्धकोसंयुक्त राष्ट्रिय आन्दोलन निरन्तर जारी  छ । २०७३ जेठ १ गतेबाट सुरु भएको राजधानी केन्द्रित आन्दोलनले राष्ट्रिय एकता र जनताको विजयको आधार निर्माणका साथै नयाँ इतिहासको सुरुआत गरेको छ ।

यसले सिंहदरवारको नश्लीय सत्ताको जग हल्लाइ सकेको छ । तर, सत्ता पक्ष अझै गम्भीर नदेखिएको मात्र होइन देशमा पटक पटक भएका क्रान्ति, विद्रोह र आन्दोलनका जनादेश, आन्दोलनकारीहरूसँग राज्यले गरेका सम्झौता र सहमतिहरूलाई समेत उल्ट्याएर एक पक्षीय रूपमा अगाडी बढ्यो र अहिले पनि बढिरहेको छ ।

हामीले उठाउँदै आएको सङ्घीयता, समानुपातिक प्रतिनिधित्व, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, स्वशासन, धर्म निरपेक्षता तथा सबै उत्पीडित समुदायहरूको पहिचान स्थापित हुने गरी सङ्घीय संरचना निर्माण तर्फ लाग्नु भन्दा सरकार आफ्नो सत्ता सुदृढ गर्न नै लागी परेको छ ।

त्यसैले, न्याय, समानता र उत्पीडनबाट मुक्तिका लागि हामी आदिवासी जनजाति, मधेशी, थारु, खस, शिल्पी÷दलित, मुश्लिम, पिछडावर्ग लगायत सबै उत्पीडित समुदायहरू अझै ठूलो सङ्घर्षको लागि अगाडि बढ्नु आवश्यक छ ।

सरकारी नीति तथा कार्यक्रम र बजेट भाषणमा उत्पीडित समुदायहरूको पहिचानलाई बेवास्ता गर्नु तथा स्थानीय निकायको पुनर्संरचना नै नगरी प्रदेशको क्षेत्राधिकारभित्र पर्ने स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गर्नुले सङ्घीयता समाप्त गर्ने तिनीहरूको षड्यन्त्र स्पष्ट भएको छ ।

त्यसैले, वर्तमान प्रतिगामी तथा विभेदकारी संविधान पुुनर्लेखन र आन्दोलनरत दलहरूले उठाएका मागहरू सम्बोधन नगरुञ्जेल हाम्रो सङ्घर्ष निरन्तर रूपमा जारी नै रहने छ ।

 संयुक्त राष्ट्रिय आन्दोलनका कार्यक्रमहरू निम्नानुसार तय गरिएको छ ।

१. २०७३ जेष्ठ २५ गतेदेखि असार मसान्तसम्म प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौँको शहीद मञ्चमा रिले अनसन ।

२. गठबन्धनका प्रत्येक घटकबाट आ–आफ्ना भातृ सङ्गठनहरूलाई पनि सहभागी गराएर प्रत्येक दिन १÷१ जना अनसन बस्ने ।

३. आन्दोलनलाई प्रभावकारी बनाउन प्रत्येक दिन ३ बजे पश्चात् अनसन स्थलमा साहित्यिक कार्यक्रम, सांस्कृतिक सभा र जनसभाको आयोजना गर्ने ।

४. प्रदेश तथा जिल्लाहरूले पनि गठबन्धनका घटक दलहरूको बैठक बसी यस्तै प्रकृतिका आन्दोलनका कार्यक्रमहरू तय गर्न सकिने । ५. अन्य कार्यक्रमहरू आवश्यकता अनुसार गठबन्धनले सार्वजनिक गर्ने ।

…………………..

     उपेन्द्र यादव

संयोजक सङ्घीय गठबन्धन

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर