newskoseli.Com

कम्बोडिया र भियतनाममा प्रधानमन्त्री : ४२ सदस्यीय टोलीमा को–को ?

प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम र कम्बोडियाको भ्रमणका लागि बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन् । दक्षिणपूर्वी एशियाली दुई मुलुकको भ्रमणमा प्रधानमन्त्रीसँग ४२ सदस्सीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।

उनको भ्रमण दलमा मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बिहीबार अपराह्न नेपाल वायुसेवाको चार्टर्ड विमानबाट हनोइतर्फ उडेका प्रधानमन्त्री ओली सुरुआतका चार दिन भियतनाममा रहने र त्यसपछिका तीन दिन कम्बोडियामा रहने भएका छन् ।

भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्य, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्रसचिव शंकरदास बैरागी दाहाल, चिफ अफ प्रोटोकल गेहेन्द्र राजभण्डारी, पर्यटन सचिव मोहनकृष्ण सापकोटा, वाणिज्य तथा आपूर्ती सचिव केदारबहादुर अधिकारी, प्रधानमन्त्रीको प्रमुख सल्लाहकार विष्णु रिमाल र परराष्ट्र मामला सल्लाहकार राजन भट्टराई सहभागी छन् ।

यसैगरी, सांसदहरु नारायण खड्का, पवित्रा निरौला खरेल, उमाशंकर अरगरिया, बोधमाया कुमारी यादव तथा राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङ, निजी चिकित्सक डा. दिव्यासिंह शाह, निजी सहयोगी राजेश बज्राचार्य तथा कपिलवस्तु नगरपालिकाकी उपमेयर शिवकुमारी चौधरी र बनेपा नगरपालिकाकी उपमेयर रेखा सापकोटा दाहाल समेत भ्रमण दलमा सहभागी छन् ।

प्रधानमन्त्री ओलीका निजी सुरक्षा सहयोगी राजेन्द्र शाही र अनिल बस्नेत तथा परराष्ट्रबाट सहसचिव तापस अधिकारी, इन्दिरा अर्याल, सुरेन्द्रकुमार यादव, रामबोल आचार्यसहितका कर्मचारी पनि भ्रमण टोलीमा सहभागी छन् । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राना, व्यवसायी दीपक मल्होत्रा, सुरज वैद्य र चन्द्रप्रसाद ढकाल पनि भ्रमण टोलीमा सहभागी छन् ।

ती दुई देशमा गरी जम्मा ३ सय ५० नेपाली रहेको बताइएको छ । कम्बोडियास्थित गैरआवासीय नेपाली संघका प्रतिनिधि शिवराज पराजुलीका अनुसार कम्बोडियामा क्यासिनो, रेस्टुराँ तथा अन्तर्राष्ट्रिय संघ–संस्थामा गरेर ३ सयजति नेपाली छन् भने भियतनाममा शिक्षण पेशा र होटल व्यवसाय गरेर जम्माजम्मी ५० जनाजति मात्र नेपाली रहेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर