newskoseli.Com

कांग्रेसको निर्णय : ‘संविधानविपरीतको मिडिया काउन्सिल विधेयक फिर्ता गर’

सरकारले संविधानको प्रावधान, व्यवस्था तथा भावनाको प्रतिकूल हुने गरी केही विधेयकहरु संसद्मा दर्ता गरेको भन्दै त्यस्ता विधेयक फिर्ता लिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ ।

सरकारले संविधान प्रतिकूल हुने गरी मन्त्रिपरिषदबाट निर्णय गरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गरेको भन्दै बुधबार बसेको कांग्रेस संसदीय दलको बैठकले आपत्ति प्रकट गरेको छ । सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले संविधानमा व्यवस्था भएको पूर्ण प्रेस स्वतन्त्रताको प्रतिकूल हुने गरी सरकारले ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ संसदमा दर्ता गरेको भन्दै उक्त विधेयकले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने आशय बोकेको निष्कर्ष निकालेको छ ।

संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको भए पनि सरकारले संविधानको व्यवस्था र भावनाको प्रतिकूल हुने गरी विधेयकहरु सङ्घीय संसदमा दर्ता गराएको आरोप कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाणले लगाए ।

‘संविधानको प्रावधान तथा व्यवस्था र मूल मर्मविपरीत राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ लाई संशोधन गर्न बनेको विधेयक सरकारले संसदमा दर्ता गराएको छ,’ बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने– ‘प्रस्तावित विधेयकमा संविधानको मूल मर्म र भावनालाई कुल्चिइएको छ ।’

उक्त विधेयकमार्फत ‘राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८’ को प्रस्तावनामा रहेको ‘स्वायत्तता र स्वतन्त्रता’ शब्द हटाई स्वतन्त्र संंवैधानिक आयोगलाई महान्याधिवक्ता कार्यालयअन्तर्गत राख्न खोजिएको टिप्पणी प्रमुख सचेतक खाणले गरे । नेपाली जनताको मानवअधिकारको संरक्षण र रक्षा गर्ने मानवअधिकार आयोगलाई सबल र सक्षम बनाउनु पर्नेमा सरकारले निरीह, कमजोर र निस्प्रयोजन गर्ने कोसिस गरेकोे कांग्रेसको भनाइ छ ।

सरकारले संसदमा वितरण गरेको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ को दफा ६ को उपदफा (३) मा ‘तत्काल परिषदको बैठक बस्न सम्भव नभएमा अध्यक्षले सेना परिचालनका लागि नेपाल सरकारसमक्ष सिफारिस गर्न सक्नेछ’ भन्ने प्रावधान राखिएको भन्दै नेता खाँणले आपत्ति जनाए । उक्त व्यवस्थाले नेपालको संविधानको प्रतिकूल हुने गरी राष्ट्रिय सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचालन गर्न खोजिएको प्रमुख सचेतक खाणको आरोप छ ।

यी विधेयकहरु प्रस्तुत गर्ने क्रममा सरकारले देखाएको धारणाले सरकार निरंकुशताको यात्रामा अघि बढेको प्रमाणित भएको उल्लेख गर्दै कांग्रेस सधैं राष्ट्रिय सुरक्षा, मानवअधिकार तथा विचार र अभिव्यक्ति स्वतन्त्रता एवं पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिएरसबै प्रकारका निरंकुशताविरुद्ध संघर्ष गरिरहने दावी उनले गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर