newskoseli.Com

माधव नेपालको गुनासो : ‘मिडियासम्बन्धी विधेयकबारे पार्टीमै छलफल भएन’

वैशाख २६ मा संसदमा दर्ता गरिएको मिडियासम्बन्धी विधेयकका विषयमा पार्टीमै छलफल नभएको सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले गुनासो गरेका छन् ।

पार्टीमा छलफलविनै विधेयक संसद्मा दर्ता गरिएको हुँदा केही विवाद सिर्जना भएको उनले बताए । प्रेस सङ्गठन दाङको आयोजनामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै विधेयकलाई लिएर पत्रकारले असन्तुष्टि जनाइरहेकाले पत्रकारको हितविपरीत भए सच्याइने पनि नेता नेपालले उल्लेख गरे ।

पछिल्लो समय सञ्चार संस्थामा देखिएको मनपरीलाई भने सच्याउनु आवश्यक रहेको धारणा उनले व्यक्त गरे । ‘मनपरी लेख्नेलाई नियन्त्रण गर्नु जरुरी छ तर सञ्चार क्षेत्रलाई नै असर पुग्ने गरी विधेयक आउँदैन,’ उनले भने– ‘पछिल्लो समय सञ्चार क्षेत्रमा देखिएको विकृतिलाई रोक्नका लागि पत्रकारका नेता र राज्यका निकाय अग्रसर हुनुपर्छ ।’

आफ्नै बारेमा पनि पत्रकारहरुले पटक–पटक गलत सूचना दिनुका साथै गलत टिप्पणी र विश्लेषण गरेको भन्दै असन्तुष्टि जनाएका पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले केही सञ्चारकर्मीले गरेका गलत कामको सजाय सबैले पाउनु नहुनेमा जोड दिए ।

देशको पछिल्लो अवस्थाका बारेमा कुरा गर्दै उनले भने– ‘जहाँसुकै बर्बाद भयो, भत्कियो, काम भएन, विकास भएन भन्नेको जमात बढेको छ तर काम गरेको देख्ने प्रवृति छैन ।’ प्रतिपक्षलाई पनि कहिलेकाहीं सकारात्मक चिन्तनको विकास गरी जनतामा सही सन्देश लैजान उनले आग्रह गरे । सत्तापक्षको विरोध गर्ने नाममा मनपरी बोल्ने र गलत सन्देश लैजाने परिपाटी ठीक नभएको उनको भनाइ छ ।

प्रतिपक्षी नेता–कार्यकर्ताले राम्रोलाई राम्रो भन्दैमा प्रतिपक्षको अस्तित्व समाप्त नहुने उल्लेख गर्दै सत्य र यर्थाथ बोल्नेको उचाइ झनै बढेर जाने उनले बताए । नेकपाको एकताका विष्यमा बोल्दै नेता नेपालले पार्टीको केन्द्र, प्रदेश, जिल्ला र स्थानीयस्तरका एकता टुङ्गिए पनि अन्य तमाम काम बाँकी रहेको बताए । एकता प्रक्रियामा केही कमी–कमजोरी एवं ढिलाइ भए पनि आत्तिइहाल्नुपर्ने स्थिति नरहेको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर