newskoseli.Com

कुलमानले ९ अर्ब भ्रष्टाचार गरे : सांसद; प्रमाणित गर, झुन्डिएर मर्छु : कुलमान

‘उज्यालो नेपाल अभियानका नायक’ नामले चर्चित बनेका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ९ अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप सत्ताधारी दलका सांसदले संसदमै लगाएका छन् । त्यस्तो आरोप प्रमाणित भएर आफू भ्रष्टाचारी सावित भए झुन्डिएर मर्न तयार रहेको चेतावनी निर्देशक घिसिङले दिएका छन् ।

संघीय संसद अन्तर्गत सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा बोल्दै सत्तारुढ नेकपाका सांसद अमनलाल मोदीले डेडिकेटेड फिडर तथा ट्रंक लाइन उपयोग गर्ने उद्योगी तथा व्यापारीहरुसँग बक्यौता रकम असुली गर्ने नाममा कार्यकारी निर्देशक घिसिङले ९ अर्ब रूपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएका थिए । त्यसैको जवाफस्वरूप त्यो आरोप प्रमाणित भए आफू झुन्डिएर मर्न तयार रहेको चेतावनी घिसिङले दिएका हुन् ।

कार्यकारी निर्देशक घिसिङले ‘सांसद भएँ भन्दैमा जथाभावी आरोप लगाउने काम नगर्न’ समेत मोदीलाई ‘सचेत’ गराएका छन् । प्राधिकरणले बिलिङ गर्दा कुनै गल्ती गरिएको भए त्यसलाई छानविन गरेर सत्यतथ्य बाहिर ल्याउन दुई वटा छानविन समिति गठन गरेर काम अघि बढाइएको घिसिङले स्पष्ट पारेका छन् ।

सांसद मोदीले भने ‘आफूले देशलाई लोडसेडिङमुक्त गरेको दम्भ देखाएर कार्यकारी निर्देशक घिसिङले भ्रष्टाचार गरिरहेको’ आरोप लगाएका छन् । त्रिशुली जलविद्युत आयोजनाको काम रोकेमा ‘लगेर थुनिदिन्छु’ भन्दै चेतावनी दिने अधिकार प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई कसले दियो भनी सांसद मोदीले प्रश्न गरेका छन् । कार्यकारी निर्देशक घिसिङ भ्रष्टाचारमा मुछिएको दावी गर्दै तत्काल छानविन गर्न सांसद मोदीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग समेत माग गरेका छन् ।

लामो समयदेखि डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट असीमित अधिकार प्रयोग गर्दै ठूलो मात्रामा बिजुली उपभोग गरेर करोडौं बक्यौता राख्दै बिल नतिरेका उद्योगी–व्यापारीहरुले पनि बक्यौता रकम असुल गर्ने विद्युत् प्राधिकरणले गरेको पत्राचार ‘कानुनसम्म नभएको’ भन्दै कुलमानसहित प्राधिकरणका अधिकारीहरुको विरोध गर्दै आएका छन । कार्यकारी निर्देशक घिसिङले भने तिर्न बाँकी महशुल बुझाउन आग्रह गर्दै आफूहरूले नियमअनुसार नै उद्योगी–व्यवसायीहरुलाई पत्राचार गरेको प्रष्ट्याएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर