newskoseli.Com

जसका नाममा विप्लवले नेपाल बन्द आह्वान गरे, उनी त्यो पार्टीका थिएनन् !

विप्लवका नाममा मारिए परदेशमा मजदुरी गर्ने युवा !

मंगलबार दिउँसो प्रहरीको गोली लागी बुधबार सबैरै ज्यान गुम्न पुगेका भोजपुरका तीर्थराज घिमिरे हत्याको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दै नै आह्वान गरिसकेको छ । तर, दोहोरो भीडन्तका नाममा प्रहरीले हत्या गरेका ती युवा विप्लवका कार्यकर्ता नै नभएको स्थानीय वासिन्दाले बताएका छन् ।

चार वर्षदेखि भारतको मुम्बईमा काम गर्दै आएका तीर्थराज घिमिरे एक महिना अगाडि मात्र घर आएको र विप्लव नेतृत्वको नेकपासँग कुनै संग्लनता नै नरहेको षडानन्द गाउँपालिका– २, कुडाककाउलेका स्थानीय वासिन्दा तथा उनका आफन्तहरुले बताएका छन् । विप्लवको कार्यकर्ताका नाममा प्रहरीले निर्दोष सर्वसाधारणलाई मारेको दाबी उनीहरुले गरेका छन् । विप्लवका नाममा आफ्नो छोराको ज्यान लिने प्रहरी र सरकारप्रति असुरक्षाको अनुभूति भएको बताउँदै दोषीलाई अबिलम्ब कारबाही गर्न पीडित परिवारले माग गरेका छन् ।

परदेशबाट एक महिना अगाडि मात्र आएको आफ्नो भतिजो विप्लवका नाममा मारिएको भन्दै परिवारका सबैजना अचम्मित भएको तीर्थका काका लिलाराज घिमिरेले बताए । विप्लवको नाममा भएको आफ्नो भतिजाको हत्याबारे सत्यतथ्य पत्ता लगाउन माग गर्दै न्याय दिलाइदिन मानवअधिकारवादी संघ–संस्था र व्यक्तित्वहरुसँग लिलाराजले आग्रह गरेका छन् ।

रोजीरोटीका लागि परदेशमा काम गर्ने आफ्नो निर्दोष देवरलाई विप्लवको नाममा मारेर सरकारले सर्वसाधारणलाई आतंकित बनाउन सुरु गरेको प्रतिक्रिया दिँदै तीर्थराजकी भाउजू कमला बस्नेत घिमिरेले पनि यसबारे सत्यतथ्य पत्ता लगाएर आफूहरुलाई न्याय दिन सम्बद्ध सबैसँग आग्रह गरेकी छन् ।

‘सञ्चार माध्यमहरुमा समाचार आएपछि मात्रै पो हामीले उनी विप्लवमा लागेका हुन् भन्ने कुरा सुन्यौं, भारतबाट घरमा आएपछि पनि काम गर्न जान्छु भनेर उहाँ हिँडेको १७ दिन भएको थियो, १७ दिनपछि त यस्तो समाचार पो आयो’– उनले भनिन् ।

‘प्रतिरक्षाका लागि गोली चलाएको’ दावी प्रहरीले गरे तापनि घिमिरेसँग कुनै पनि हातहतियार नभएको खुलेको छ । गलत सूचनाका आधारमा प्रहरीले नियोजित रुपमै लखेटेर गोली हानी घिमिरेलाई मारेको प्रत्यक्षदर्शीहरुको भनाइ छ । विप्लव नेकपाका नाममा गैरविप्लव तथा सर्वसाधारणहरुको ज्यान लिने सरकारी मूर्खताप्रति दुःख लागेको बताउँदै घिमिरेका छिमेकी पूर्ण गुरुङले भने– ‘निर्दोष र निहत्था सर्वसाधारणहरु सरकारको निशाना बन्दै जान थालेका छनन्, यो खेदजनक कुरा हो ।’

विप्लव नेकपाले घिमिरेलाई आफ्नो कार्यकर्ता घोषणा गरेकामा समेत स्थानीयवासीले आपत्ति जनाएका छन् । आफ्नो आन्दोलन सफल बनाउने नाममा सर्वसाधारणलाई भर्‍याङ बनाउने हो भने विप्लवहरुको सपना पनि कहिल्यै पूरा नहुने उनीहरुको भनाइ छ ।

विप्लव नेकपाले भने मृतक घिमिरे आफ्नै कार्यकर्ता भएको दाबी गरेको छ । दोहोरो भीडन्त नभई पक्राउ गरेर सिधै गोली प्रहार गरी आफ्ना कार्यकर्ताको हत्या गरेर मानवअधिकार हनन गरेको आरोप विप्लव नेकपाले लगाएको छ ।बुधबार विज्ञप्ति प्रकाशित गर्दै सो पार्टीका महासचिव विप्लवले यही हत्याकाण्डको विरोधमा जेठ १३ मा नेपाल बन्दकै आह्वान गरिसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर