newskoseli.Com

अष्ट्रिया उडे उपराष्ट्रपति पासाङ : को–को गए, के–कस्ता छन् कार्यक्रम ?

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

उपराष्ट्रपति पुनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदाश वैरागी लगायतले बिदाइ गरे । उपराष्ट्रपति पुनको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो ।

अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ मा आयोजना हुने जलवायुसम्बन्धी आर– २० विश्व शिखर सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ प्रस्थान गरेका हुन् । उपराष्ट्रपति पुन कतार एयरवेजको विमानमार्फत दोहा हुँदै अष्ट्रिया प्रस्थान गर्ने जानकारी उनका प्रेस संयोजक मनोज घर्ती मगरले दिएका छन् ।

उपराष्ट्रपति पुन जेठ १४ मा आर– २० विश्व शिखर सम्मेलनमा सहभागी भई नेपालको धारणा राख्नेछन् । भ्रमणको क्रममा उनले अष्ट्रियाका राष्ट्रपति बेलेनसँग शिष्टाचार भेट गर्नेछन् । उपराष्ट्रपति पुन भियना अन्तर्राष्ट्रिय केन्द्रको ४०औं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजना हुने कार्यक्रममा समेत सहभागी हुनेछन् ।

उपराष्ट्रपति पुन अष्ट्रियामा रहँदा त्यहाँस्थित नेपाली राजदूतावासले अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा आयोजना गर्ने कार्यक्रममा समेत सहभागी हुनेछन् । भ्रमण टोलीमा उपराष्ट्रपतिकी पत्नी हस्तमाली पुन, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलगायत सहभागी छन् । भ्रमण सम्पन्न गरेर उनी जेठ १८ मा स्वदेश फर्कने कार्यक्रम रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर