newskoseli.Com

प्रचण्डको आग्रह : ‘समझदारीलाई नउछाल्नोस्’

हालै सार्वजनिक भएको र राजनीतिक वृत्तमा तीव्र क्रिया–प्रतिक्रिया उत्पन्न गरिरहेको तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको समझदारीलाई ‘अनावश्यक नउछाल्न’ सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।

पार्टी एकीकरण प्रक्रियालाई इमानदारिताका साथ कार्यान्वयन गरिने उनले बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी एकताका समयमा भएका समझदारीहरुलाई अनावश्यक उछाल्नु नहुने उनले बताए ।

पार्टीलाई एकढिक्का र सुदृढ बनाउने कार्यमा दुबै अध्यक्ष लागिरहेकाले अनावश्यक रुपमा विभाजित नहुन उनले नेता–कार्यकर्ता, शुभेच्छुक र जनतामा आग्रह गरे । सैद्धान्तिक र व्यावहारिक स्पष्टता एवं एकरुपताकै जगमा एकता भएकाले पार्टी अझ सुदृढ हुने विश्वास उनले व्यक्त गरे ।

दुई अध्यक्षबीच भएको समझदारी कुनै नयाँ कुरा नभएकाले यस विषयलाई अतिरञ्जित नबनाउन अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग आग्रह गरे । एकतअघि दुई पार्टीबीच भएका निर्णयलाई हालको एकीकृत पार्टीले इमानदारिताका साथ कार्यान्वयन गर्ने उनले बताए ।

भारतमा भएको विदेशमन्त्री परिवर्तनले नेपाल–भारत सम्बन्धमा कुनै तात्त्विक असर नपर्ने पनि उनले उल्लेख गरे । जेठ २० मा बस्ने पार्टीको केन्द्रीय सचिवालयको बैठकले पार्टी एकीकरणका बाँकी मुद्दा र नेता–कार्यकर्ताको कार्यविभाजन टुंग्याउने जानकारी समेत अध्यक्ष प्रचण्डले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर