newskoseli.Com

विप्लवका पोलिटब्युरो पूर्वराज्यमन्त्री छिरे सत्ताधारी पार्टीमा : ‘मूल प्रवाहमा आउन’ विप्लवलाई प्रचण्डको आग्रह

पूर्वराज्यमन्त्री एवं पूर्वसभासद समेत रहिसकेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सो पार्टी परित्याग गरेर सत्ताधारी नेकपामा प्रवेश गरेका छन् । आइतबार उनलाई पार्टीमा स्वागत गर्दै पूर्वप्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘राजनीतिको मूल प्रवाह’ मा आउन नेकपाका महासचिव विप्लव समेतलाई आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले विभिन्न समूहका रहेका कम्युनिस्टहरुलाई आफ्नो पार्टीमा समावेश भएर ‘मूल प्रवाह’ मा सामेल हुन आग्रह गरेका छन् । सत्ताधारी पार्टीको राजधानीस्थित धुम्बाराहीमा रहेको केन्द्रीय कार्यालयमा राईलाई प्रवेश गराउँदै मुलुकको समृद्धि र समाजवादका लागि कुनै दिन विप्लव पनि यही पार्टीमा आएर जोडिनुपर्ने अध्यक्ष प्रचण्डले बताए ।

विप्लव नेकपाले लिएको बाटोबाट गन्तव्यमा नपुगिने भएकाले यही पार्टीमा आएर मूलप्रवाहीकरण हुनुपर्ने उनले बताए । विप्लव नेकपालाई सरकारले केही महिनायता ‘प्रतिबन्ध’ लगाउँदै आएको छ । ‘म अन्य साथीहरुलाई कुनै आग्रहबिना मूल राजनीतिक पार्टीमा समाहित हुन आग्रह गर्छु–आउनोस् बसेर छलफल र संवाद गरौं; इतिहास, वर्तमान, राष्ट्र र अन्तर्राष्ट्रिय स्थितिको समीक्षा गरौं अनि देश र जनताका आकाङ्क्षा पूरा गरौं; विश्वलाई समाजवादी आन्दोलनको नयाँ ढाँचा र सन्देश दिऊँ, यो नै आजको ऐतिहासिक आवश्यकता हो’– अध्यक्ष प्रचण्डले आग्रह गरे ।

‘लामो बलिदान र सङ्घर्षबाट नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय भई अहिले सत्ताको नेतृत्वमा छ, जनताले ठूलो भरोसा गरेको छ, हामीले सुशासन र समृद्धिको यात्रालाई सफल बनाउनुपर्छ,’ उनले भने– ‘हामी सामाजिक न्यायसहितको नयाँ ढाँचामा जान खोजेका छौं, यसलाई असफल बनाउने तमाम प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नुुपर्छ त्यसैले सबै कम्युनिस्ट पार्टीलाई एकीकृत गर्नुपर्छ, पार्टी प्रवेशको शृङ्खला रोकिने छैन ।’

वैधानिक र शान्तिपूर्ण बाटोसहित बलियो कम्युनिस्ट पार्टीमा आई अब हिंसाबाट राष्ट्र र जनताको परिवर्तन गर्न सकिँदैन भनेर राई पुनः मूल प्रवाहमा फर्कनु सही समयको सही निर्र्णय भएको उल्लेख गर्दै राईले विगतमा गरेको त्याग र बलिदानका आधारमा आवश्यक भूमिका दिइने वचन अध्यक्ष प्रचण्डले दिए ।

आफैंले हुर्काएका छोराछोरी रिसाएर घरबाट बाहिर जाँदा अभिभावकलाई चिन्ता परे झैं पदम राईहरु बाहिर रहँदा आफूलाई चिन्ता लाग्ने गरेको उल्लेख गर्दै आज उनी फेरि पार्टीमा फर्केकामा खुशी लागेको प्रचण्डले बताए । पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री रहेका राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर– १ बाट निर्वाचित भएका थिए । अध्यक्ष प्रचण्डसहित पार्टीका सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’, महासचिव विष्णु पौडेललगायतले राईलाई पार्टीमा स्वागत गरे ।

देशमा केही परिवर्तन हुन्छ कि भनेर आफू ‘विप्लव समूह’ मा लागेको र पछिल्लो समय कतिपय घटना र अवस्थाका कारण हिंसात्मक लडाइँ गर्दा कुनै शक्तिले केही नपाउने तर देश र जनताले फेरि दुःख पाउने भएकाले आफूले ‘सो समूह’ परित्याग गरेको दावी राईले गरे ।

आफूले ‘सो समूह’ मा रहेर सरकारसँगको वार्तामा अग्रसरता लिएको तर त्यो सफल नभएकाले हिंसाबाट एकले अर्काेसँग बदला लिनुभन्दा शान्तिपूर्ण बाटोबाट समाज रुपान्तरणमा लाग्नुपर्ने आफ्नो निचोड रहेको जिकिर उनले गरे । समृद्धिको सपना पूरा गर्ने दिशामा आफूले एक इँट्टाको काम गर्ने गरी आगामी राजनीतिक यात्रा अघि बढाउने दावी उनले गरेको खबर राससले प्रेषित गरेको छ ।

विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले भने आइतबार नै विज्ञप्ति जारी गरेर ‘पलायन’ भैसकेका राईलाई आफूहरुले महिनौं अघि नै कारबारी गरिसकेको हुँदा यसबारे कुनै भ्रममा नपर्न सबैमा अपिल गरेका छन् ।

यो पनि पढ्नुहोस्–
पार्टी छाडेका राईमाथि विप्लव नेकपाको आरोप : ‘दलाल पुँजीपति सरकारको मतियार’ (विज्ञप्तिसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर