newskoseli.Com

विप्लव नेकपाद्वारा चौकी आक्रमणको प्रयास ! इन्स्पेक्टरको कमान्डमा थप प्रहरी परिचालन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताद्वारा सोलुखुम्बुस्थित एक प्रहरी चौकी ‘कब्जाको प्रयास’ भएको खबर सञ्चार माध्यमहरूमा प्रकाशित/प्रशारित भएको छ ।

नेकपाका कार्यकर्ताले आइतबार (१९ जेठको) राति महाकुलुङ गाउँपालिका– ३, छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको बताइएको छ । राति १२ बजेतिर नेकपाका २५–३० जना कार्यकर्ता चौकी कब्जा गर्ने योजनाका साथ चौकीमा पुगेको तर त्यसको सुइँको पाएर प्रहरीहरु सो समयअघि नै हतियारसहित चौकी छाडेर हिँडेकाले भिडन्त टरेको बताइएको छ ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले भने प्रहरी चौकी कब्जाको कुनै प्रयास नभएको स्पष्ट पारेका छन् । ‘प्रचारमा आएजस्तो, त्यस्तो केही नभएको’ उनले बताएका छन् । स्थानीयवासीले भने चौकी कब्जाका लागि विप्लवका कार्यकर्ता आउँदै गरेको सूचना पाएपछि त्यहाँ कार्यरत ७ जना प्रहरी हतियारसहित पहिल्यै हिँडिदिएको बताएका छन् ।

यही विषयलाई मध्यनजर गरेर प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले सोमबार सदरमुकाममा सुरक्षा समितिको बैठक बोलाएको खबर छ । जिल्ला प्रहरी कार्यालयले पनि छेस्काममा ‘विप्लव समूहको गतिविधि बढ्यो’ भन्दै थप प्रहरी पठाइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयले पनि आइतबार राति विप्लवका कार्यकर्ताले चौकीमै आक्रमण गरेको भन्ने प्रचारवाजी सत्य नभएको जनाएको छ । सोमबार सबेरै इन्स्पेक्टरको कमान्डमा थप प्रहरी टोली छेस्काममा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विप्लव नेकपाले भने तत्काल प्रहरी, सेना वा कुनै पनि सुरक्षा निकायमाथि हमला गर्ने आफूहरुको योजना र नीति नभएको दावी गरेको छ । एक नेताले न्युजकोसेलीसँग भने– ‘हामीमाथि लगाइएको भनिएको कथित प्रतिबन्धले हावा खाएपछि दमनको वातावरण तयार पार्न सरकार पक्षले नै फैलाएको अफवाहबाहेक अरु केही होइन ।’

यो पनि पढ्नुहोस्–
विप्लवका प्रवक्ताले भने : ‘चौकी हानेका छैनौं, हान्ने नीति र योजना पनि छैन’ (विज्ञप्तिसहित)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर