newskoseli.Com

डा. बाबुरामको भाषण : ‘घोकन्ते शिक्षाले देश विकास हुँदैन’

पूर्वप्रधानमन्त्री एवं सङ्घीय समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले ‘घोकन्ते शिक्षाबाट समाज र देशको विकास हुन नसक्ने’ बताएका छन् ।

पनौतीमा रहेको सिद्धार्थ वनस्थली इन्स्टिच्युटले शनिबार आयोजना गरेको ‘शैक्षिक सामग्री हस्तान्तरण तथा सङ्घीय नेपालमा शिक्षाको महत्त्व’ विषयक कार्यक्रममा बोल्दै संसारलाई बुझ्ने र बदल्ने शिक्षा नै भएकाले घोकन्ते ढङ्गले पढाउने र पढ्ने गरेर प्रगति हुन नसक्ने उनले बताए । विकासका लागि शिक्षा आवश्यक भएकाले सबै काम गर्ने मान्छेको चेतनाशक्तिलाई बढाउन सक्ने शिक्षा दिन शिक्षक–शिक्षिका लाग्नु पर्नेमा उनले जोड दिए ।

‘आधुनिक युगको मन्दिर भनेको नै शैक्षिक केन्द्र हो, जसका पुजारी शिक्षक–शिक्षिका हुन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराईले भने– ‘पवित्र थलो विद्यालयलाई परिवर्तन गर्ने मानव चेतनाको विकास उहाँहरुले गर्नु पर्दछ ।’ कर्मकाण्डी प्रकारको घोकन्ते शिक्षा दिएर खालि डिग्री मात्रै लिएर निस्कने खालको शिक्षण भएकाले त्यसले कुनै पनि विकासमा टेवा पुर्‍याउन नसक्ने उल्लेख गर्दै अब स्थानीय तहले परम्परागत शैक्षिक प्रणाली बदल्न लाग्नुपर्नेमा उनले जोड दिए । अमेरिकालगायतका देश धन–सम्पत्तिले नभई शिक्षा प्रणालीको माध्यमबाट नै विकास भएको उनले उल्लेख गरे ।

प्रयोगात्मक शिक्षाको खाँचो रहेको भन्दै त्यससँगै सांस्कृतिक मूल्य–मान्यतालाई समेत शिक्षामा समावेश गरेर बुझाउनु आवश्यक रहेको उनले बताए ।

शिक्षकले नै शिक्षा दिएर विद्यार्थीलाई शक्तिशाली बनाउने भएकाले शिक्षक–शिक्षिकालाई आदर गर्ने बानीको विकास गर्नुपर्ने काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठले बताए । अभिभावकलाई पनि गुणस्तरीय शिक्षा दिनमा नै जोड गर्न उनले आग्रह गरे ।

नगरभित्रका विद्यालयलाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि गुणस्तर अभिवृद्धिको काम भइरहेको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले बताए । विद्यालयका सञ्चालक रामेश्वर थापाले शिक्षामा आमूल परिवर्तन आइसकेको अवस्थामा विद्यालय र विद्यार्थीको शिक्षामा अबका दिनमा थप सहयोग आवश्यक रहेको बताए ।

सोही कार्यक्रममा विद्यालय सञ्चालक समितिका उपाध्यक्ष राजन मानन्धरले उपलब्ध गराएका ११ वटा स्मार्ट टेलिभिजन सेट नगरभित्र रहेका सामुदायिक विद्यालय र सोही विद्यालयलाई हस्तान्तरण गरियो । भालेश्वर माध्यमिक विद्यालय, कुशादेवी माध्यमिक विद्यालय, पुण्य माध्यमिक विद्यालय, श्रीराम माध्यमिक विद्यालय, पाठशाला आधारभूत विद्यालय र इन्द्रेश्वर उच्च माध्यमिक विद्यालयले स्मार्ट टेलिभिजन प्राप्त गरे । शैक्षिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई उक्त विद्यालयले सोही कार्यक्रममा सम्मान गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर