newskoseli.Com

यातायात मन्त्रीसहित उनकै गाडी खोलाभित्र पल्टिएपछि…

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ चढेको गाडी स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका– ३, घट्टेस्थित दरौं खोलामा पल्टेको छ । अर्जुनचौपारी– ३, कै सहरे खोलामा पुल शिलान्यास गरेर सदरमुकाम फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी खोलाभित्र पल्टेको हो ।

गाडी खोलामा डुबेपछि मन्त्री महासेठलाई सुरक्षाकर्मीले तत्काल उद्धार गरेका थिए । गाडीलाई भने क्रेन लगाएर झिकिएको थियो । दैनिक तीन वटा मिनिबस, १० वटा जिप र मालवाहक सवारी साधनहरू दरौं खोलाको यही भँगालोबाट वारपार गर्न बाध्य छन । देशकै पहिलो होमस्टे भनेर चिनिने स्याङ्जाको सिरुबारीसम्म दरौं खोलो हुँदै सवारी साधन चल्छन् ।

पोखराबाट स्याङ्जा सदरमुकाम हुँदै अर्जुनचौपारी बजार आउने गाडी जोखिमपूर्ण रूपमा दरौं खोलो तरेर सिरुबारीसम्म पुग्छन् । स्थानीयले असोजदेखि जेठसम्म यसरी नै यात्रा गर्नुपर्छ । बर्खाको तीन महिना यो रुटमा यातायात बन्द हुन्छ । सहरे खोलामा मन्त्री महासेठले शिलान्यास गरेको पुल तयार भए दरौंमा अर्को पुल आवश्यक नपर्ने अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष दीर्घनारायण अर्याल बताउँछन् ।

‘दरौं खोलानजिकै ठूलो पहरो छ, त्यो पहरो केही महिनाभित्रै फोड्ने योजना छ त्यसपछि दरौं नतरी किनारैकिनार सहरे पुगिन्छ, त्यहाँ पुल बनेपछि खोलाबाट गाडी तर्नुपर्दैन’– उनले भनेको खबर नारायण विश्वकर्माको बाइलाइनमा मंगलबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर