newskoseli.Com

सरकारलाई विप्लवका विद्यार्थीको २४ घन्टे अल्टिमेटम, शैक्षिक हडतालसहितका आन्दोलन घोषणा

विद्यार्थी नेता चिरञ्जीवी ढकाल

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले सरकारलाई २४ घन्टे अल्टिमेटम दिँदै आमहडताल सहितको साताव्यापी आन्दोलन घोषणा गरेको छ ।

सरकारले ‘प्रतिबन्ध’ लगाएको नेकपा र ऊ सम्बद्ध जनवर्गीय संगठनहरुमाथि सरकारले दैनिक एवं नियमित क्रियाकलाप गर्न बन्देज लगाउँदै गिरफ्तारीलाई तीब्रता दिएको छ । राज्यको यसखाले कदमलाई ‘फासीवादी हर्कत’ को संज्ञा दिर्दै विप्लव नेकपा निकट क्रान्तिकारीले आफ्ना गिरफ्तार नेताहरुलाई २४ घन्टाभित्र रिहा गर्न सरकारलाई चेतावनी दिँदै अन्यथा चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गरेको हो ।

अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकालले सोमबार विज्ञप्ति जारी गर्दै राज्यको हर्कतका विरुद्ध कोणसभा, प्रदर्शनहरु, बन्द, हड्ताल लगायतका पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन् । अध्यक्ष ढकालले गिरफ्तार नेताहरुको २४ घन्टाभित्र रिहाई नगरिए चरणबद्ध आन्दोलन गरिने भन्दै जेठ ३० देखि असार ६ गतेसम्मका कार्यक्रम घोषणा गरेको जानकारी विज्ञप्तिमार्फत दिएका छन् ।

घोषित कार्यक्रमअनुसार असार ६ मा शैक्षिक हड्ताल हुने भएको छ ।

यस्तो छ अखिल (क्रान्तिकारी) को विज्ञप्ति–

हाम्रो महान् तथा गौरवशाली संगठन नेपालमा चलिराखेको दलाल पुँजीपति वर्गको जनविरोधी राज्य व्यवस्था र त्यसको जगमा अडेको असमान र अवैज्ञानिक दलाल पुँजीवादी शिक्षा प्रणालीको विरुद्धमा अनवरत रुपमा जीवनमरणको संघर्षमा रहेको विषय सर्वविदितै छ । केपी–पिके कम्पनीको सरकार र रामबहादुर गृह प्रशासन बनेदेखि नै यसले हाम्रो संगठनमाथि निरन्तर रुपमा दमन, गिरफ्तारी, झुठामुद्दा र राज्य आतांकका श्रृखंलाहरु नै चलाईरहेको छ । आफ्नो जनविरोधी र कुरुप चरित्र ढाकछोप गर्न यसले क्रान्तिकारी विद्यार्थीहरुको न्यायपूर्ण आन्दोलनलाई जेल, नेल र बन्दुकको साहाराले दबाउने फासिवादी हर्कत पद्रर्शन गरिरहेको छ ।

यसै सन्दर्भमा हाम्रो संगठनका सचिवालय सदस्य तथा भेरी ब्युरो संयोजक पुष्प न्यौपाने, गण्डक ब्युरो संयोजक मिलन राई, केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष मदन चन्द, केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला अध्यक्ष प्रेम शाही, केन्द्रीय सदस्य तथा धादिङ जिल्ला अध्यक्ष अटल पाण्डे, केन्द्रीय सदस्य तथा कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, कैलाली जिल्ला अध्यक्ष बबरजंगसिंह, पृथ्वीनारायण क्याम्पस जिल्ला अध्यक्ष प्रकाश बास्तोला, पर्सा जिल्ला अध्यक्ष राधेश्याम साह, बारा जिल्ला अध्यक्ष भुपती साह, मुगु जिल्ला संयोजक नरसुर बुमी, पिएन जिल्ला उपाध्यक्ष आस्था नेपालीलगायत देशैभरिबाट दर्जनौं कमरेडहरुलाई राजनैतिक आस्थाको आधारमा गैह्रन्यायीक रुपमा गिरफ्तार गरी झुठा मुद्दाहरुमा फँसाई हिरासत र जेलमा अमानविय तरिकाले राखिएकोप्रति हाम्रो संगठन घोर भत्र्सना र निन्दा गर्दछ । हामी यो सामाजिक दलाल फासिवादी सरकारलाई चुनौति दिन चाहन्छौं कि तिम्रो यो अन्यायपूर्ण, जनविरोधी, राष्ट्रघाती, भ्रष्ट र फासिवादी राज्य व्यवस्थाका जुनसुकै प्रकारका दमननका अगाडि हामी कदापी झुक्ने छैनौं । वैज्ञानिक समाजवादी राज्य व्यवस्था र वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापनाको हाम्रो महान् लक्ष्य प्राप्तिको जनक्रान्तिमा हाम्रो संगठन अनवरत अगाडि बढ्नेछ ।

हामी सामाजिक दलाल फासिवादी केपी–पिके सरकार र रामबहादुर गृह प्रशासनलाई देशैभरीबाट गैह्रन्यायीक गिरफ्तार गरिनु भएका हाम्रो संगठनका सबै कमरेडहरुलाई २४ घण्टाभित्र विनाशर्त रिहा गर्न जोडदार माग गर्दछौं । साथै उहाँहरुको रिहाईको निम्ति निम्न चरणबद्ध संघर्षका कार्यक्रमहरु पनि यहि विज्ञप्ति मार्फत सार्वजनिक गर्दछौं । हाम्रा यी न्यायपूर्ण आन्दोलनका कार्यक्रमहरु सफल पार्न सहयोग गरिदिनुहुन सम्पूर्ण देशभक्त, वामपन्थी, प्रगतिशिल जनसमुदायहरु र आम युवा विद्यार्थीहरुलाई आग्रह पनि गर्दछौं । यो संघर्षबाट उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवार स्वयं यो सामाजिक फासिवादी सरकार हुने विषय पनि स्पष्ट पार्दछौं ।

संघर्षका कार्यक्रमहरु:

१) २०७६ जेठ ३० र ३१ गतेः देशव्यापी स्कूल, क्याम्पस र विश्वविद्यालयहरुमा विरोध कार्यक्रम, अन्तरक्रिया, विरोध व्यानर, पर्चा वितरण, भण्डाफोर, राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी, हस्ताक्षर संकलन र कोणसभा ।
२) असार १, २ र ३ गतेः जुलुस प्रदर्शन ।
३) असार ४ गतेः देशव्यापी क्याम्पसहरु अगाडि १ घण्टा चक्काजाम (९ बजेदेखि १० बजेसम्म) ।
४) असार ५ गते देशव्यापी मसाल जुलुस ।
५) असार ६ गते गैह्रन्यायीक गिरफ्तारी गरिएका स्थानहरुः उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, बारा, पर्सा, कास्की, बाँके, कैलाली, जाजरकोट र मुगु जिल्लामा १ दिने आम शैक्षिक हड्ताल
६) असार ७ गतेपछि दोस्रो चरणका संघर्षका कार्यक्रहहरु घोषणा गरिने छन् ।

क्रान्तिकारी अभिवादन सहित !

२७ जेठ, २०७६

…………………
चिरञ्जीवी ढकाल
अध्यक्ष

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर