newskoseli.Com

परदेशी युवाले ४० लाख खर्चेर बनाइदिए विद्यालय भवन

परदेशमा आफ्नै भविष्य निर्माणका लागि संघर्ष गरिरहेका एक युवाले करिव ३९ लाख ७८ हजार रूपैयाँको लागतमा आफ्नो गाउँमा विद्यालय भवन निर्माण गरिदिए भन्दा सबैलाई अचम्म लाग्न सक्छ । तर, गोकुलगंगा गाउँपालिका, बेताली, रामेछापका युवक राज घिमिरेले शनिबार एक कार्यक्रमका बीचमा उक्त विद्यालय भवन हस्तान्तरण गरेका छन् ।

गोकुलगङगा– ४, बेतालीस्थित सेतीदेवी आधारभूत विद्यालय गाउँपालिका अध्यक्ष खड्ग सुनुवारको उपस्थितिमा हस्तान्तरण गरिएको हो । खुला आकाशमुनि पढ्न बसेका बालबालिकाको दयनीय अवस्था देखेपछि दुई वर्ष अगाडि भवन निर्माण गरिदिने घोषणा गरेका घिमिरेले निर्माण सम्पन्न गरीवरी भवन हस्तान्तरण गर्न पाउँदा आफूलाई निकै खुशी लागेको बताए ।

निर्माणका क्रममा आर्थिक संकलनका लागि धेरै दुःख झेल्नु परे तापनि निर्माण सम्पन्न भएपछि छुट्टै आनन्द आएको बताउँदै घिमिरेले भने– ‘म अति नै खुशी छु, कमसेकम साना बाबुनानीहरुको मुहारमा खुशी छाएको छ, विशेषगरी क्यानडाको जस्पेरवासीहरुको सयोगप्रति निकै आभारी छु ।’ घिमिरेले विद्यालय भवन निर्माणपूर्व पनि गाउँमा विभिन्न तवरले सयोग गरेका थिए । भूकम्पको समयमा काभ्रे र रामेछापका विभिन्न ठाउँमा झन्डै १४ लाख रूपैयाँ बराबरको सयोग उनले गरेका थिए ।

सेतीदेवी आधारभूत विद्यालयको समपूर्ण भौतिक पूर्वाधार निर्माण गर्दासम्म लगभग ४० लाख खर्च भएको उनको भनाइ छ । अझ अचम्मलाग्दो विषय त के छ भने विद्यालय भवन निर्माणका निम्ति करिव ८० प्रतिशत त जस्पेरकै स्थानीयवासीले सयोग गरेका हुन् भने बाँकी सयोग दिने र हौसला बढाउने काम भने केही नेपालीहरुले गरेका हुन् ।

नेपालको नियम–कानुनको सम्मान गर्न आफूले सम्पूर्ण वैधानिकता पूरा गरेर ‘माउन्टेन अफ रिलिफ’ नामक संस्था नै दर्ता गरी औपचारिक रुपमै रकम संकलन गरिएको राजले बताए । भवन बनाउने क्रममा विद्यालयका प्रधानाध्यापक र आफन्तहरु समेत रुष्ट भएको स्मरण गर्दै राजले भने– ‘केही गर्छु भन्नेहरुलाई हतोत्साही गराउन समाजकै मानिसहरु लागिपर्दा रहेछन्, यसको शिकार म आफैं भएपछि धेरै अनुभव बटुल्ने मौका पाएँ । विद्यालय प्रमुखको व्यवहारदेखि आफन्त समेत मेरो अभियानलाई विफल बनाउन भ्रामक समाचार बनाएर लागिपर्दा भने मलाई साह्रै दुःख लाग्यो ।’

तीनकोठे भवन, खानेपानी र विद्यालयका निम्ति अत्यावश्यक अन्य भौतिक पूर्वाधार निर्माणमा आफ्ना भाइ–बहिनीहरु तथा लेखरचना–समाचारमार्फत उत्साह र हौसला बढाइदिने पत्रकार साथीहरु समेत विशेष धन्यवादको पात्र भएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर