newskoseli.Com

प्रचण्डले फेरि भने : ‘मन्त्रिपरिषद पुनर्गठन हुन सक्छ, विधेयकहरू पनि सच्याइन्छ’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने अभिव्यक्ति सार्वजनिक गरेका छन् । अध्यक्ष प्रचण्डले केही अघि पनि मन्त्रीमण्डलमा फेरबदल हुन सक्ने पटक–पटक बताएका थिए । तर, प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदमा कुनै हेरफेर गरेका थिएनन् ।

प्रेस सङ्गठन नेपाल कास्कीद्वारा बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने– ‘मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग छलफल भइरहेको छ तर यो विषय प्रधानमन्त्रीको क्षेत्राधिकारभित्र पर्ने भएकाले उहाँले चाहेको बेला मात्र पुनर्गठन हुन्छ ।’

बजेटपछि सरकारमा केही न केही पुनर्गठन गर्नुपर्छ भन्ने कोणबाट दुई अध्यक्षबीच छलफल भएको जानकारी दिँदै उनले भने– ‘यहाँबाट फर्केपछि दुई अध्यक्षका बीचमा अरु यावत् विषय टुङ्ग्याउने ढङ्गले कुरा हुन्छ, त्यसपछि मात्र ठोस रुपमा भन्न सकिन्छ, अहिले नै पुनर्गठनको निर्णयमा भने पुगिएको छैन ।’

एकताअघिका सहमति र समसामयिक विषयवस्तुबारे

पार्टी सञ्चालन र सरकार सञ्चालनका सम्बन्धमा भएका सहमति पहिले नै सार्वजनिक भइसकेको विषय भएको उल्लेख गर्दै यी विषय नयाँ नभएको उनले बताए । दुई पार्टीको एकीकरण आफैंमा महान् कुरा भएको बताउँदै राष्ट्रको समृद्धिका लागि यो महत्त्वपूर्ण भएको अध्यक्ष दाहालले बताए । पार्टी एकता गरेर जनताले अनुमोदन गरिसकेको अवस्थामा फेरि त्योभन्दा बाहिरबाट जो–कोहीले गतिविधि गरे पनि सह्य नहुने चेतावनी उनले दिए ।

सरकारले विप्लवसँग वार्ताका लागि टोली गठन गरिसके पनि त्यसमा प्रगति हुन नसकेको उल्लेख गर्दै विप्लवले लिएको बाटो देश र विप्लव स्वयंका लागि समेत हितकर नहुने प्रचण्डले बताए । सरकारले मंगलबार मात्र गुठी विधेयक फिर्ता लिएको प्रसङ्ग उल्लेख गर्दै सरकार जनताप्रति जिम्मेवार रहेको र पेलेर जाने पक्षमा नरहेको यसैबाट देखिएको पूर्वप्रधानमन्त्री दाहालले बताए ।

मिडिया काउन्सिललगायतका विधेयकमा देखिएका समस्या संसदीय प्रक्रियाबाट संशोधन एवं परिमार्जन गरिनेमा जोड दिँदै विगतमा सरकार र पार्टीभित्र पर्याप्त गृहकार्यको कमीका कारण ल्याइएका विधेयकबारे बुझाउन नसकिएकाले समस्या आएको उनले बताए । आगामी दिनमा सरोकारवालासँग छलफल गरेर मात्र अघि बढिने बताउँदै पार्टीलाई गतिशील बनाएर जनतासँग जोड्न एकता प्रक्रियालाई अन्तिम रुप दिने कसरत भइरहेको उनले बताए ।

पार्टी एकताका बाँकी कामबारे

एकीकरणका बाँकी कामबारे प्रधानमन्त्रीसँग लामो छलफल भएको र शनिबार सचिवालय बैठक बसी केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट एवं एकताका अन्य बाँकी काम सम्पन्न गरिने जानकारी पनि उनले दिए । सरकारका काम प्रभावकारी बनाउन छलफल भइरहेको जानकारी दिँदै पहिलो वर्षलाई आधार वर्षका रुपमा लिई यस अवधिमा संवैधानिक, कानुनी एवं विकास पूर्वाधारका काम अघि बढेको प्रचण्डले बताए । उनले भने– ‘यस अवधिमा छिमेकीसँगको सम्बन्धमा समेत महत्त्वपूर्ण उपलब्धि भएको छ ।’

सरकारको यस वर्षको नीति तथा कार्यक्रम एवं बजेट उत्साहप्रद र सन्तुलित भएको धारणा अध्यक्ष दाहालले प्रकट गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर