newskoseli.Com

प्रहरीद्वारा गोली हानी विप्लवका जिल्ला इन्चार्जको हत्या !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई बिहीबार प्रहरीले गोली हानी हत्या गरेको छ ।

प्रहरीले भने नेकपाका कार्यकर्ता र प्रहरीबीचको मुठभेडमा पौडेलको मृत्यु भएको दावी गरेको छ । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले इन्चार्ज पौडेल प्रहरीद्वारा मारिएको पुष्टि गरेका छन् । विप्लव नेकपा निकट अनलाइनले पनि इन्चार्ज पौडेल प्रहरीद्वारा लालबन्दीमा मारिएको खबर प्रेषित गरिसकेको छ । माओवादी नेता पौडेलको साथबाट हतियार समेत बरामद गरिएको दाबी प्रहरीले गरेको छ ।

प्रहरी प्रवक्ता पोखरेलका अनुसार लालबन्दी नगरपालिका– १ स्थित जंगलमा प्रहरी र विप्लव नेकपाका कार्यकर्ताबीच भीडन्त भएको हो । दुई वटा मोटरसाइकलमा रहेका विप्लव नेकपाका चार जना कार्यकर्ताले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही भएको दावी पोखरेलले गरेका छन् ।

घटनास्थलबाट तीन जना फरार भएको र पौडेल मारिएको प्रहरीको दावी छ । इन्चार्ज पौडेलको साथबाट दुई थान कटुवा पेस्तोल र गोली बरामद समेत गरिएको प्रहरीको दावी छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारीले पनि इन्चार्ज पौडेल प्रहरीद्वारा मारिएको पुष्टि गरेका छन् । ‘पौडेल मारिएका छन्, घटनाको विस्तृत जानकारी आउन अझै बाँकी छ’– प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।

सर्लाहीको वागमती नगरपालिका– २, धरहरा निवासी पौडेल चुरेभावर राष्ट्रिय एकता पार्टी स्थापना भएपछि उक्त पार्टीको सर्लाही अध्यक्ष बनेका थिए । तत्कालीन एकीकृत नेकपा (माओवादी) विभाजित भएपछि पौडेल मोहन वैद्य ‘किरण’ नेतृत्वको पार्टीमा आबद्ध भएका थिए । पछि वैद्य माओवादी समेत विभाजित भई नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी गठन हुँदा पौडेल त्यसैको जिल्ला नेतृत्व सम्हाल्न पुगेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर