newskoseli.Com

बाबुरामको आरोप : ‘बजेटमा वैचारिक अस्पष्टता’, अरू कसले के–के भने ?

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले सामान्य र निरन्तरताका हिसाबले हेर्दा आगामी आर्थिक वर्ष २०७६–७७ को बजेटलाई सकारात्मक रुपमा नै हेर्न सकिने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकको प्रारम्भमा बोलेका उनले भने– ‘केही सुधार भए पनि निरन्तरताको बजेट आयो त्यसैले साह्रै खुशी हुने अवस्था भने छैन ।’ देशको अहिलेको आवश्यकता भनेको वायुपंखी घोडाको गतिमा हिँड्ने बजेट हुनुपर्दथ्यो भन्दै पूर्वअर्थमन्त्री समेत रहिसकेका डा. भट्टराईले अहिलेको बजेटलाई विगतको संक्रमणकालसँग दाँजेर हेरिनु नहुने बताए । बजेटमा वैचारिक अस्पष्टता देखिएको उनको आरोप छ ।

बजेटलाई केवल आय–व्ययको अनुमानका रुपमा मात्र नहेरी देश रुपान्तरणको दस्तावेजका रुपमा बुझ्नु आवश्यक रहेको बताउँदै उनले भने– ‘उत्पादकत्व बढाउने र आत्मनिर्भर हुने पक्षमा पर्याप्त बजेट विनियोजन हुनु पर्नेमा त्यो कम देखिएको छ । बिप्पा सम्झौता गर्न अन्कनाउने र डराउने काम गर्नहुन्न, आफ्नो मुलुकको हितलाई ध्यान दिएर अघि बढाउनुपर्छ ।’

वर्षा सुरु भो, मल खोई ?

संसदको शुक्रबारको बैठकमा बर्खायाम नजिकै आएकाले बाढीपहिरोबाट हुन सक्ने जनधनको क्षति रोक्न गर्नुपर्ने पूर्वतयारी, रासायनिक मलको आपूर्ति तथा सप्तरीमा फैलिएको डेंगु रोग नियन्त्रणलगायतका विषय समेत जोडतोडले उठे । शून्य समयमा भाग लिँदै सांसद लक्ष्मी परियारले मुलुकमा पानीजहाज चलाउने हल्ला चलेको निकै समय बितिसके पनि आजको दिनसम्म कार्यालय स्थापना र बोर्ड झुण्ड्याउने बाहेक अरू काम किन हुन सकेन भनी प्रश्न गरिन् ।

सांसद वसन्त नेम्वाङले अन्तरमन्त्रालय समन्वय हुन नसक्दा मुलुकका प्राथमिकता प्राप्त आयोजना पनि वातावरणलगायतका विषय उठाएर प्रभावित पार्ने कोसिस भएको भन्दै राष्ट्रिय गौरवका आयोजनाका सम्बन्धमा एकीकृत नीति बढाउनु आवश्यक रहेको सुझाव दिए । सांसद विमला विश्वकर्माले यस वर्षको वर्षाको मौसम सुरु भइसकेकाले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपका घटनाबाट हुन सक्ने जनधनको क्षति रोक्ने पूर्वतयारी गर्न सरकारलाई सुझाव दिइन् ।

सांसद विष्णु शर्माले दाङमा सिमेन्ट कारखानाबाट उडेको धुलोका कारण मानिस, पशु–चौपायाको स्वास्थ्यमा गम्भीर असर परेकाले त्यस विषयमा सरकारले आवश्यक कारबाही अघि बढाओस् भनी माग गरे । सांसद शान्ता चौधरीले गुठी विधेयक फिर्ता गरिँदा गरिबी र शोषणमा परेका समुदायको हृदयमा फेरि चोट पुर्‍याउने काम भएको बताइन् ।

विप्लवका नाममा हत्या–गिरफ्तारी बन्द गर

सांसद शिवकुमार मण्डलले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीका नाममा निहत्था राजनीतिक कार्यकर्तालाई यातना दिने र गोली हान्ने काम भएको भनी सरकारी कदमको विरोध गरे । त्यस्ता गतिविधि रोक्न समेत उनले सरकारलाई सुझाव दिए ।

सांसद सत्यनारायण शर्मा खनालले वर्षायाम आएसँगै मुलुकका विभिन्न नदीमा आउने बाढीले खेतीयोग्य जग्गामा पुर्‍याउन सक्ने क्षति रोक्न तटबन्धका लागि तारजाली मौज्दात राख्न सरकारको ध्यानाकर्षण गराए । सांसद सरिताकुमारी गिरीले सप्तरीमा फैलिरहेको डेंगु रोग नियन्त्रण गर्न औषधिसहितको स्वास्थ्यटोली खटाउन माग गरिन् ।

सांसद सीताराम महतोले बर्खायामसँगै धान रोप्ने बेला भइसके पनि रासायनिक मलको व्यवस्था हुन नसकेको भनी सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाए । सांसद सुदन किरातीले कानुन निर्माणको मूल जिम्मेवारीमा रहेका सांसदले ल्यापटप किनाउनुभन्दा त्यो पैसाले चेपाङको घर निर्माण गरौं भन्ने सुझाव दिँदै ल्यापटपको विषयले सांसदको मानमर्दन हुन्छ भन्नेतर्फ समयमै सबैको ध्यान पुगोस् भनी आवाज उठाए ।

सांसद सञ्जयकुमार गौतमले बर्खायाम सुरु भइसके पनि गोदाममा मल नभएकोप्रति सरकारको ध्यान जाओस् भन्दै जनताको सरकार मात्र भनेर नहुने, जनहितका काम गर्न सक्नुपर्नेमा सरकारलाई सचेत गराए । सांसद हरिराज सुवेदीले शान्ति प्रक्रियाका बाँकी काम छिटो पूरा गर्नुपर्नेमा जोड दिए । सांसद हिरा गुरुङले मिडिया काउन्सिल विधेयकले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने भएकाले फिर्ता लिन सरकारसँग माग गरे ।

सांसद ज्ञानकुमारी छन्त्यालले तनहुँमा खेल मैदानको व्यवस्थाका लागि सरकारको ध्यानाकर्षण गराइन् । सांसद ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीका विभिन्न जिल्लामा बर्खायामसँगै आउने बाढीले पुर्‍याउन सक्ने क्षतिप्रति बेलैमा सजग र सचेत भएर पूर्वतयारी गर्न सदनको ध्यानाकर्षण गराएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर