newskoseli.Com

सरकारप्रति प्रचण्डको ‘सांकेतिक असन्तुष्टि’ : ‘जनताले अनुभूति गर्नेगरी काम गर्नुपर्छ’

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्नेगरी काम गर्नु आवश्यक रहेको बताएका छन् ।

सोमबार चितवनमा आयोजित माडी नगरपालिकाको तेस्रो नगरसभामा बोल्दै अध्यक्ष प्रचण्डले तीनै तहको समन्वयले मात्र विकास र समृद्धि सम्भव हुने बताएका हुन् । अहिले तीनै तहको समन्वय गर्ने काम भइरहेको उनको भनाइ छ । कानुन निर्माणकै क्रममा रहेका कारण तीन तहको समन्वयमा केही समस्या देखिए पनि पछि समस्या समाधान हुने उनले बताए ।

अहिलेको परिवर्तन गुणात्मक भएको अध्यक्ष प्रचण्डको भनाइ छ । पहिलेका परिवर्तनहरू मात्रात्मक मात्र भएको उल्लेख गर्दै अहिले राजा फालेर गणतन्त्र ल्याउनु सानो परिवर्तन नभएको उनले बताए । जनताले अब विकासमा परिवर्तन चाहेको प्रचण्डले बताए । अबको सन्दर्भमा पुरानै संरचना र पुरानै कानुनमा काम गर्न कठिन भएको बताउँदै अध्यक्ष दाहालले भने– ‘पुराना ऐन–कानुन र काम गर्ने तरिकामा परिवर्तन नआए नयाँ संरचनाले मात्र काम गर्न सकिँदैन ।’

माडीका समस्या र सम्भावना विशिष्ट प्रकृतिका रहेको भन्दै समस्या समाधान गर्दै अघि बढ्नेतर्फ तीनै तहका सरकार लाग्नुपर्नेमा उनले जोड दिए । माडीका जनताका लागि निकुञ्ज समस्याका रुपमा रहेको उल्ल्लेख गर्दै अध्यक्ष दाहालले भने– ‘निकुञ्ज ऐन, २०२९ जनताको आवश्यकतालाई महशुस नभई जनावरको आवश्यकतालाई महसुश गरेर ल्याइएको थियो, अब त्यसलाई संशोधन गरेर निकुञ्ज पनि रहने र जनताका माग पनि पूरा हुने गर्ने तयारी भइरहेको छ ।’ उनले अगाडि भने– ‘ऐन संशोधनका विषयमा मन्त्रालय र सम्बद्ध विदेशी निकायहरूसँग छलफल भइरहेको छ ।’

बाँदरमुढे घटनाका पीडितसँग गरिएको सहमति अनुसार काम अघि बढाउन लागिएको समेत अध्यक्ष दाहालले जानकारी दिए । सोही सहमति अनुसार अहिले सङ्घीय सरकारले घटनाका पीडितहरुको सम्झनामा १० करोड रूपैयाँको उद्यान निर्माणको तयारी थालेको उनले बताए । अध्यक्ष प्रचण्डले भने– ‘द्वन्द्वकालमा भएको ठूलो दुर्घटनाका पीडितलाई सबै तह मिलेर सहयोग गर्नु आवश्यक छ ।’ ‘माडी’ लाई ‘मणि’ बनाउने आफ्नो योजना रहेको भन्दै त्यसमा सहयोग गर्न प्रदेश र स्थानीय सरकारलाई उनले आग्रह गरे । सबैको सहयोग भएमा केही वर्षमा माडीमा ठूलो परिवर्तन गर्न सकिने उनको भनाइ छ ।

नगरप्रमुख ठाकुर ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य रामलाल महतो, नगरपालिकाका प्रवक्ता शिवहरी सुवेदीलगायतले पनि बोले । माडी नगरपालिकाले आर्थिक वर्ष २०७६–७७ का लागि ९२ करोड ७० लाख ४८ हजार रूपैयाँको बजेट पेस गरेको छ, जसमा चालुतर्फ १९ करोड ५० लाख र पुँजीगततर्फ ७३ करोड २० लाख ४८ हजार रूपैयाँ विनियोजन गरिएको नगर उपप्रमुख ताराकुमारी काजीमहतोले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर