newskoseli.Com

विप्लव नेकपा–प्रहरीबीच गोली हानाहान : नेकपाका इन्चार्ज र प्रहरीको मृत्यु, अर्का प्रहरी घाइते

सरकारद्वारा ‘प्रतिबन्धित’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता र प्रहरीबीच बुधबार भोजपुरमा गोली हानाहान हुँदा प्रहरीसहित दुई जनाको मृत्यु भएको छ ।

भिडन्तमा विप्लव नेकपाका ओखलढुङ्गा जिल्ला इन्चार्ज नीरकुमार राई र प्रहरी जवान सञ्जीव राईको मृत्यु भएको छ । भोजपुरको शनिबारेस्थित ‘पानधारे होटल’ मा भएको उक्त घटनामा प्रहरी जवान खोमनाथ भट्टराई घाइते समेत भएका छन् ।

जिल्ला अस्पताल भोजपुरमा भट्टराईको उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिएका छन् । भट्टराईको दाहिने कुमको हड्डी भाँचिएको प्रजिअ खतिवडाले जनाएका छन् ।

यसरी भयो घटना…

भोजपुर नगरपालिकाका मेयर कैलाशकुमार आलेका अनुसार भोजपुर नगरपालिका– ७ हटियालाइनस्थित पानधारे होटलमा बुधबार बिहान ८ः४५ तिर विप्लव नेकपाका कार्यकर्ता नीरकुमार बसिरहेका थिए । त्यसैबेला सादा पोशाकका प्रहरी सञ्जीव राई पनि सोही होटलमा चिया पिउन आइपुगे । नेकपा कार्यकर्ता राई र प्रहरी राईबीच पहिल्यै चिनजान समेत भएको बताइएको छ ।

चिया पिउने क्रममै उनीहरुबीच कुराकानी सुरु भयो । कुराकानीको सिलसिलामा हतियारको कुरा निस्क्यो र विवाद बढ्दै गएर चर्काचर्की भयो । उनीहरुबीच केहीबेर लछापछार र ठेलमठेल चल्यो । त्यत्तिकैमा विप्लव नेकपाका राईले प्रहरीको कोखामा गोली हानेर त्यहीं ढालिदिए ।

प्रहरी जवान ढलेलगत्तै सञ्जीवसँगै रहेका अर्का प्रहरीले नीरकुमारमाथि गोली प्रहार गरे । स्थिति तनावग्रस्त बन्दै जाँदा घटनास्थल थप प्रहरी पुगे । गोली लागेका दुवैलाई अस्पताल लगिँदा जिल्ला अस्पतालले दुवैलाई मृत घोषणा गर्‍यो । घटनास्थलबाट प्रहरीले चाइनिज पेस्तोल र ६ राउन्ड गोली बरामद गरेको बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर