newskoseli.Com

सँगसँगै चियापान, लगत्तै गोली हानाहान ! यसरी ढले विप्लवका इन्चार्ज र प्रहरीका जवान…

सदरमुकामस्थित मुख्य बजारको पश्चिमतिर रहेको पान्धारे नामको होटलमा बुधबार बिहान सादा पोसाकका प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला नेता एउटै टेबलमा बसेर चिया पिइरहेका थिए ।

दुवै जनाबीच पहिलेदेखि नै चिनजान थियो । भेट हुनासाथ हात मिलाए र चिया पिउन सुरु गरे । नेकपाका ओखलढुंगा इन्चार्ज नीरकुमार राई र सादा पोसाकका प्रहरी जवान सञ्जीव राई चियाको चुस्कीसँगै एकापसमा गफिँदै थिए । प्रत्यक्षदर्शीका अनुसार नीरकुमार दुई दिनयता चिया पसलमा आउने–जाने गरिरहेका थिए । बुधबार पनि बिहानै आएर अरु मान्छेसँग ‘हाई–हेलो’ गरिरहेका थिए ।

करिव ८ बजे सञ्जीव आइपुगे । दुवैले ‘दाइभाइ’ को साइँनो पनि लगाए । अभिवादन साटासाट गरे । सञ्जीव सुराकीका लागि चिया पसल छिरेका थिए । गफकै क्रममा नीरकुमारले सञ्जीवलाई भने– ‘विप्लवको पार्टीमा लाग्यो भन्दैमा किन खेदो गर्छौ ? पार्टीमा लाग्नु आस्थाको कुरा हो ।’ सञ्जीवले पनि सहज ढंगले उत्तर फर्काएद्द ‘हामी दुवै राई भएकाले भाइभाइ हो, के गर्नु र !’

सञ्जीवले यति भनेपछि नीरकुमार पिसाब फेर्न जान्छु भन्दै पसलबाट निस्कन खोजे । सञ्जीवले नीरकुमारको पाखुरा समाते । ‘गफ गरौं, तपाईं कहाँ जान लागको ? अहिले अरु साथी आउँदैछन्’– सञ्जीवको भनाइ उद्धृत गर्दै प्रत्यक्षदर्शीले सुनाए ।

दुवैबीच तानातान भयो । तानातानकै क्रममा नीकुमार र सञ्जीव होटल बाहिर पुगिसकेका थिए । नेकपाका कार्यकर्ताले सञ्जीवलाई गोली प्रहार गरे । ठ्याक्कै त्यति नै बेला सादा पोसाकमा हातहतियारधारी प्रहरी पनि घटनास्थल आइपुगे । र, यही परिवेशमा प्रहरीले पनि नीरकुमारमाथि गोली प्रहार गरेपछि दुवैको निधन हुन पुगेको खबर एलिसा श्रेष्ठको बाइलाइनमा बिहीबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर