newskoseli.Com

२१ को मृत्यु, ८ बेपत्ता, ६ हजार विस्थापित : कहाँ–कहाँ, के–के वितण्डा मच्चायो बाढीले ?

वर्षाका कारण राजधानी उपत्यकासहित मुलुकका विभिन्न भाग डुबानमा परेका छन् । मुलुकका विभिन्न भागमा बिहीबार रातिदेखि वर्षा भइरहेको छ । वर्षासँगै भएको डुबान र बाढीपहिरोमा परी २१ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

काठमाडौंमा ३, खोटाङमा ३, काभ्रे, भोजपुर, ओखलढुंगा र झापामा २–२, रामेछाप, मकवानपुर, इलाम, पर्सा, ललितपुर, धादिङ र सिन्धुलीमा १–१ गरेर २१ जनाको मृत्यु भएको हो । रौतहटमा २, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा १–१ जना गरी ८ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाले जनजीवन प्रभावित भएको छ । विभिन्न जिल्लामा गरी ६ हजारभन्दा बढी विस्थापित भएका छन् । खासगरी प्रदेश १, २ र ३ मा मानवीय र भौतिक क्षति बढी भएको छ । कतिपय ठाउँमा राजमार्ग अवरुद्ध हुँदा यातायात सेवा प्रभावित भएको छ ।

काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता श्याम ज्ञवालीका अनुसार उपत्यकामा शुक्रबार राति ७ बजेसम्म काठमाडौं मूलपानीमा घर भत्किँदा एकै परिवारमा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा घर भई मुलपानीमा बस्दै आएकी ३५ वर्षीया शर्मिला यादव, गर्भवती २० वर्षीय नितुक यादव र १३ वर्षीय कुन्दन यादव छन् । बागमती खोलाले बगाएर ११ वर्षीय सुरज जिम्बाको मृत्यु भएको छ । बर्दिया घर भई काठमाडौंको कुलेश्वरमा बस्दै आएका २५ वर्षीय विनोद चौधरी बल्खु खोलाले बगाएर बेपत्ता भएका छन् । उनको खोजी भैरहेको ज्ञवाली बताए ।

काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, धोबीखोला, टुकुचा, मनोहरा, हनुमन्ते, गोदावरीलगायतमा बाढी उर्लेको छ । नदी आसपासका क्षेत्र डुबानमा पर्दा सयौं परिवार विस्थापित भएका छन् । सुकुमबासी वस्तीमा त झनै कन्तबिजोग देखिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार उपत्यकाका सुनाकोठी, कुलेश्वर, कलंकी, मैत्रीनगर, नैकापलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन । विभिन्न नदीमा आएको बाढीले आसपासका वस्ती डुबानमा पर्नुका साथै ग्यास सिलिन्डर, भाँडाकुँडा, लत्ताकपडा र खाद्यान्न बगाएको छ ।

बल्खु खोलाको पानी वस्तीमा पसेपछि कलंकीस्थित खसीबजार, मालपोत, प्रहरी र ट्राफिक प्रहरी कार्यालय समेत डुबानमा परेका छन् । सिंहदरबारको पूर्वीगेट नजिकैको पर्खाल भत्किएको जानकारी महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी उपरीक्षक रविकुमार पौडेलले दिएका छन् । वर्षाले उपत्यकाका विभिन्न भाग डुबानमा पर्दा सवारी साधन पनि फसेका छन् ।

खोटाङमा पहिरोमा परी तीनजनाको मृत्यु भएको छ। खोटेहाङ गाउँपालिका– २, बाप्लुखा बाघपच्याङका विष्णु राईको घर पहिरोले पुर्दा उनकी पत्नी रेखा, छोराहरु ३ वर्षका रोमन र ७ महिनाका रोजनको मृत्यु भएको हो । विष्णुलाई भने पहिरोमा टाउको मात्र निस्किएको अवस्थामा आफन्तले फेला पारेर उद्धार गरेका थिए । उनलाई उपचारका लागि खोटाङबजार पठाइएको छ । राई परिवारलाई सुतिरहेकै अवस्थामा पहिरोले पुरेको हो । रेखाको शव ७ महिनाको छोरालाई काखमा च्यापिरहेको अवस्थामा निकालिएको थियो । इलाका प्रहरी कार्यालय खोटाङबजारका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीको कमान्डमा खटिएका प्रहरी, प्रहरीचौकी बाप्लुखाका प्रहरी र स्थानीयले पहिरो खोतलेर मृतकको शव बाहिर निकालेका हुन् ।

भोजपुरमा २ जनाको ज्यान गएको छ । पहिरोले चर्पी बगाउँदा टेम्केमैयुम गाउँपालिका ९ लेखर्कका जनक विक र रामप्रसाद राई गाउँपालिका– ७, बासिखोराका जगतबहादुर राईको घरको गारो भत्किएर किच्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरीनिरीक्षक पाण्डव राजवंशीले बताए । वर्षाका कारण भोजपुरमा हवाई तथा सडक यातायात पनि ठप्प भएको छ । भोजपुर लेगुवा सडक खण्डको ठाउँठाउँमा पहिरो जादा यातायात अवरुद्ध भएको यातायात व्यवसायीले जनाएका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाका अनुसार सम्भावित विपद्लाई ख्याल गर्दै पर्याप्त स्रोतसाधनको व्यवस्था गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको छ ।

पहिरोले घर पुरिँदा काभ्रेको बनेपा– ३, नाला चुनातालमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसाद दंगालकी ५५ वर्षीया पत्नी गोमा र ७ वर्षीया नातिनी सुहाबी छन् । अन्य २ जना घाइते भएका छन् । बुहारी सुशीला र अर्की नातिनी अनुष्कालाई उद्धार गरिएको छ । घाइते दुवैको शिर मेमोरियल अस्पताल बनेपामा उपचार भइरहेको काभ्रेका एसपी जयराज सापकोटाले जानकारी दिए ।

धादिङको गजुरी गाउँपालिका– ४, दरिङगाल बालुवाडाँडामा कृष्णबहादुर तामाङको एकतले ढुंगामाटो र टिनले छाएको कच्ची घर पहिराले पुर्दा छोरी ८ वर्षीया अस्मिता तामाङको मृत्यु भएको हो । घटनामा तामाङका १२ वर्षीय छोरा जयराम घाइते भएका छन् । घाइतेको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ। वर्षाका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर यातायात अवरुद्ध भएको छ ।

इलामको चुलाचुलीका एक जनाको पनि खोलाले बगाएर मृत्यु भएको छ । चुलाचुली गाउँपालिका– १ बस्ने अन्दाजी ५० वर्षका अञ्चल लावतीको शव झापाको कमल गाउँपालिका– २, भालुगाउँमा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान करिव ११ बजे चुलाचुली गाउँपालिका– १ र २ को बीचमा रहेको बागडोर खोला तर्ने क्रममा उनी बगेका थिए । पेल्टिमारीस्थित प्रहरी चौकी र स्थानीयले खोजी गर्ने क्रममा अपराह्न उनको शव झापाको भालुगाउँमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ओखलढुंगामा बाढीले बगाएर २ जनाएको मृत्यु भएको छ । चिशंखुगढी गाउँपालिका– ४ की ८५ वर्षीय पासाङकुटी शेर्पा र सुनकोसी गाउँपालिका– ४, चिउरीबोटका ५५ वर्षीय कुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

रामेछापको रामेछाप नगरपालिका– ५, रामपुरमा गोठको पर्खाल भत्किएर किच्दा ७१ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । शुक्रबार बिहान घरनजिकै रहेको गोठमा भैंसीलाई घाँस हालेर दुहुन बस्दा भत्केको गोठको पर्खालले किचेर उनको घटनास्थलमा मृत्यु भएको वडाध्यक्ष भीमबहादुर तमाङले टेलिफोनमार्फत जानकारी दिए । उक्त घटनामा घाइते असुली सुनुवारलाई उपचारका लागि जिल्ला अस्पताल रामेछाप पठाइको जानकारी वडाध्यक्ष तामाङले दिए । पर्खाल भत्किँदा २ वटा भैंसी समेत किचिएर मरेका छन् । पहिरोका कारण रामेछाप नगरपालिका– ७ का ध्रुवकुमार श्रेष्ठको घर भत्किएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण खुर्कोट–मन्थली सडक अवरुद्ध भएको छ । पहिरो पन्छाउन सडक डिभिजन कार्यालय खुर्कोट र मन्थली नगरपालिकासँग समन्वय गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी (पाण्डे( ले जानकारी दिइन् ।

सिन्धुलीको फिक्कलमा पनि पहिरोमा परी एक महिलाको ज्यान गएको छ । फिक्कल गाउँपालिका– १, झुल्केमा शुक्रबार दिउँसो गोठमाथिबाट पहिरो खस्दा ३५ वर्षीया हेमकुमारी सुनुवारको मृत्यु भएको हो । उनी गोठमा गाईवस्तुलाई खोले खुवाउँदै थिइन् । पहिरोले गोठ पुर्दा सुनुवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिए । उपचारका क्रममा स्थानीय स्वास्थ्यचौकीमा उनको मृत्यु भएको हो । पहिरोले दुई बाख्रा र तीन गाई बगाएको छ । गोलन्जोर गाउँपालिका– ३, भुवनेश्वरीमा पनि पहिरोले गोठ भत्काउँदा निरबहादुर मगरको एउटा बाख्रो मरेको स्थानीय गौरव कार्कीले जानकारी दिए । हरिहरपुरगढी– १, घन्टेस्थित बसपार्कमा वाग्मती नदीको बाढीबाट ७ घर डुबानमा परेको स्थानीयले बताएका छन् । दर्जनौं घर पहिरोको जोखिममा परेका छन् । कमलामाई नगरपालिका– ३, चपौलीमा पहिरोले एउटा घरमा क्षति पुर्‍याएको छ । सुनकोसी गाउँपालिका– ७, मझुवाका केही घर समेत पहिरोको जोखिममा छन् ।

मकवानपुरमा पनि बाढीका कारण एक बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । थाहा नगरपालिकामा खोलाले बगाउँदा शिवराम बलामीकी १४ वर्षीया छोरी सन्तमायाको मृत्यु भएको हो । खोलाले बगाएर घाइते उनको उपचारका क्रममा पालुङ प्राथमिक स्वास्थ्यकेन्द्रमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख मुकेशकुमार सिंहले बताए । कैलाश गाउँपालिका– ५, कालीखोलामा आएको पहिरोमा परी एक महिला बेपत्ता भएकी छन् । स्थानीय तारामाया पाख्रिन पहिरोमा परी हराइरहेको कैलाश गाउँपालिका– ५ का वडाध्यक्ष छेकु लामाले बताए ।

पर्साको पार्सागढी– १ मा दसवर्षे बालकको खोलाले बगाएर मृत्यु भएको छ । जिल्लाका सबै नदीहरुको पानीको बहाव उच्च भएको छ । दर्जन बढी वस्ती डुबानमा परेको प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौरले बताए । बाढीले बगाई ल्याएको काठदाउरा संकलन गर्न गएका १० वर्षे निखिल पटेललाई खोलाले बगाएको राठौरले बताए । उद्धार गरेर वीरगञ्जस्थित गण्डक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले बालकलाई मृत घोषित गरेका थिए । जिल्लाका स्थानीय नदी खोलामा पानीको बहाव बढे कतिपय वस्ती डुबानमा परेको नेपाल रेडक्रस सोसाइटी धोबिनी उपशाखाका अध्यक्ष तबरेज अहमदले बताए । खोलामा बाढी आउँदा ठोरी यातायात सम्पर्कबाट विच्छेद भएको छ भने विद्युत् आपूर्ति पनि बन्द छ ।

झापामा खोलाले बगाएर एक बालिकासहित २ को मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार इलाम चुलाचुली– १ का ५१ वर्षीय अञ्चल लावती र संखुवासभा घर भई दमक १० मावली आएकी ६ वर्षीया एलिजा न्यौपानेको मृत्यु भएको हो । रौतहटमा २, मकवानपुर, सुनसरी, पाँचथर, महोत्तरी, मोरङ र काठमाडौंमा १–१ जना गरी ८ जना बेपत्ता भएका छन् । वर्षासँगै आएको बाढीका कारण प्रदेश– १, २ र ३ का विभिन्न वस्ती डुबानमा परेका छन् । मुलुकका अन्य प्रदेशमा पनि वर्षा भइरहे पनि कुनै क्षति नभएको खबर शनिबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर