newskoseli.Com

बाढीपहिरो अपडेट : ९० को मृत्यु, २९ बेपत्ता, ४१ घाइते

असार अन्तिम साता भएको वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेर अहिलेसम्म ९० जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । विपदमा परेर अहिलेसम्म २९ जना हराइरहेको र ४१ जना घाइते भएको केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिएका छन् ।

उनका अनुसार बाढीपहिरोबाट झन्डै १२ हजार घरधुरी विस्थापित भएकाले उनीहरुलाई अस्थायी आश्रयस्थलमा राखिएको छ । विपदमा परेर सबैभन्दा बढी रौतहटमा मात्रै १० जनाले ज्यान गुमाएका छन् । ललितपुर र सिराहामा ६–६ तथा मोरङ, भोजपुर, धनुषा, मकवानपुर र सिन्धुलीमा ५–५ जनाले ज्यान गुमाएका छन् ।

ओखलढुङ्गा, महोत्तरी र डोल्पामा ४–४ तथा झापा, खोटाङ, पर्सा, काभ्रेपलाञ्चोक र काठमाडौंमा ३–३ जनाको मृत्यु भएको छ । सुनसरी, बारा, धादिङ र दाङमा २–२ तथा इलाम, पाँचथर, सङ्खुवासभा, उदयपुर, सर्लाही रामेछाप, पाल्पा र कपिलवस्तुमा १–१ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढी डोल्पामा ७, इलाम, मोरङ र सिन्धुलीमा ३–३ जना बेपत्ता भएमा छन् । अहिलेसम्म सर्लाहीमा २ हजार ४ सय, रौतहटमा १ हजार १ सय १०, बारामा १ हजार ६ सय ६५, पर्सामा १ सय २०, सिरहामा ५ सय, मोरङमा १ हजार ५ सय ३९ लगायत विभिन्न जिल्लामा गरेर झन्डै १० हजार घरपरिवार विस्थापित भएको केन्द्रले जनाएको छ ।

अहिले राहत वितरण र भौतिक संरचना पुनर्निर्माणको काम तीव्र रुपमा अघि बढिरहेको र अवरुद्ध राजमार्ग खुलाउने प्रयास समेत जारी रहेको गृह मन्त्रालयले जनाएको छ । वर्षा घटेकाले जनजीवन सामान्य हुँदै गएको जानकारी मन्त्रालयले दिएको छ ।

बुधबार मात्र सरकारी उच्चस्तरीय टोलीले तराईको डुबान तथा बाढीको हवाई एवं स्थलगत निरीक्षण गरी स्थानीय अधिकारीमार्फत हालको अवस्था र राहत वितरण कार्यबारे जानकारी लिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर