newskoseli.Com

कसले, किन तोडफोड गर्‍यो बुद्धका पाँच मूर्ति ?

राजमार्गमा स्थापना भएका बुद्धका मूर्ति अज्ञात समूहले तोडफोड गरी क्षति पुर्‍याएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागमा स्थापना गरेका मूर्तिमध्ये नयाँमिलदेखि शङ्करनगर क्षेत्रबीचका पाँच वटा मूर्ति बुधबार राति अज्ञात समूहले तोडफोड गरेको नगरपालिकाले जनाएको छ ।

मूर्ति तोडफोडको घटनाबारे नगरपालिकाका तर्फबाट जिल्ला सुरक्षा निकायलाई जानकारी गराइसकिएको नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले बताए । रातको समयमा एकै प्रकृतिले मूर्ति तोडफोड गरेर क्षतविक्षत बनाएको भन्दै यो घटना नियोजित तथा सुनियोजित रुपले भएको आशङ्का उनले गरे ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरिसकेको जानकारी जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले दिए । प्रदेश– ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष, २०७६ को अवसर पारेर तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गको बीच भागको डिभाइडरमा वैशाख १ देखि बुद्धका आकर्षक मूर्ति स्थापना गर्ने अभियान सुरु गरेको हो ।

हालसम्म जोगीकुटीदेखि मङ्गलापुरसम्मको क्षेत्रमा २० वटा मूर्ति स्थापना गरिसकिएका छन् । ६ लेन सडकमा हरियाली प्रवर्द्धन र नियमित सरसफाइ अभियान सञ्चालन गर्दै आएको तिलोत्तमाले पर्यटक आकर्षित गर्न सडकमा बुद्धमूर्ति स्थापना गर्ने कार्यक्रमअन्तर्गत मूर्ति स्थापना गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर