सोमबार बिहान फेरि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेता पक्राउ परेका छन् ।
हिमा गाउँपालिका– ७, धाँचुगाउँका ४६ वर्षीय उक्त पार्टीका जिल्ला सेक्रेटरी विर्खबहादुर शाही र नरहरिनाथ गाउँपालिका– २, कालिकोटका सो पार्टीसम्बद्ध युवा सङ्गठनका कर्णाली ब्युरो अध्यक्ष ३६ वर्षीय जगतबहादुर विष्टलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनालाई जिल्ला सेक्रेटरी शाहीको घरबाटै पक्राउ गरिएको प्रहरी निरीक्षक नवीन वलीले बताए ।
सेक्रेटरी शाही र युवानेता विष्ट धाँचुगाउँमा आएको भन्ने जानकारीका आधारमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक वलीको नेतृत्वमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट चन्दा रसिद ३० थान, युवा सङ्गठनको लेटरप्याड ४ थान, पर्चा–पम्प्लेट १ सय ३ थान, एउटा सिमकार्ड, दुइटा मोबाइल र ८ थान पुस्तक बरामद गरेको दावी प्रहरीले गरेको खबर राससले प्रेषित गरेको छ ।
प्रहरीले यसअघि शनिबार मध्यराति राजधानीबाटै सो पार्टीका पोलिटब्युरो सदस्य एवं प्रशिद्ध जनकलाकार माइला लामालाई पक्राउ गरेको थियो ।