पहिरोमा पुरिएर गुल्मीमा छ जनाको ज्यान गएको छ । सोमबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरोले पुरिएर सत्यवती गाउँपालिका– ३ मा एकै परिवारका दुई जना र वडा नं. ४ का तीन घर पुरिँदा चार जनाको ज्यान गएको छ । पहिरोमा पुरिएर पाँच जना अझै हराइरहेका छन् ।
सत्यवती गाउँपालिका– ४, लिम्घामा खसेको पहिरोले स्थानीय दलित वस्तीका तीन घरमा क्षति पुर्याएको सोही वडाका वडा सदस्य डिल्लीराज भट्टराईले जानकारी दिए । ‘मृतकको शरीरको भाग क्षतविक्षत अवस्थामा रहेकाले पहिचान हुन कठिनाइ भएको छ, कसैको टाउको थिचिएको छ, कसैको शरीर नै चुडिएको छ’– सदस्य भट्टराईले टेलिफोनमा भने ।
प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलका अनुसार सो गाउँपालिका– ३ मा एकै परिवारका आमा–छोरा गरी दुई जनाको र वडा नं ४ मा चार जनाको शव स्थानीय र प्रहरीको प्रयासमा निकाल्ने काम भएको छ । अन्य पाँच जना बेपत्ता भएको उनले पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार वडा नं. ३ मा ३४ वर्षीया तिलकुमारी तरामु र उनका नौ वर्षीय छोरा दर्शनको मृत्यु हुनुका साथै वडा नं. ४ मा हेमन्त विक, पङ्खु विक, अञ्जली विक र छली विकको शव निकालिएको छ । अन्य पाँच जना हराइरहेकाले पहिरोमा खोज्ने काम भइरहेको जानकारी उनले दिए ।
पहिरो खस्ने क्रम नरोकिएको र पहिरोबाट अन्य घर समेत जोखिममा रहेकाले त्यहाँका सम्पूर्ण जनतालाई नजिकैको विद्यालयमा राखिएको समेत उनले बताए । प्रजिअ पौडेलका अनुसार भौगोलिक विकटताका कारण सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली घटनास्थलमा पुग्न ढिलाइ भैरहेको छ । उनीहरु केही समयमै पुग्ने र पीडित परिवारलाई सुरक्षित स्थानमा सार्ने काम समेत भएको उनले बताए ।
लगातार पानी परिरहेकाले उद्धार गर्न कठिनाइ भएको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताए । लगातार पानी परिरहेको र ठाउँ–ठाउँमा पहिरोले बाटो समेत भत्काएकाले घटनास्थलमा पुग्न समय लाग्ने जानकारी अध्यक्ष ढकालले दिए ।