newskoseli.Com

‘जनताको जनवाद नै निर्विकल्प कार्यदिशा’ : प्रमुख सचेतक गुरूङ

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं प्रतिनिधिसभामा नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरूङले वर्तमान सन्दर्भमा ‘जनताको जनवाद’ नै पार्टीको निर्विकल्प कार्यदिशा भएकोमा जोड दिएका छन् । अहिलेको नेपालको वर्गसम्बन्ध र उत्पादन–सम्बन्धमा धेरै फेरबदल आएको भन्दै यस्तो सन्दर्भमा वस्तुस्थितिअनुकूलको कार्यदिशा नै ‘जनताको जनवाद’ भएकामा उनले जोड दिए ।

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१औं स्मृति दिवसको अवसरमा नेकपा लमजुङ जिल्ला समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता गुरूङले अहिले पुष्पलालको विचारलाई आत्मसात गर्दै पार्टीले ‘जनताको जनवाद’ लाई कार्यदिशाका रूपमा अवलम्बन गरेको बताए । नेपालका हिमाल, पहाड, तराई र सिंगो राष्ट्रलाई एकताबद्व पारेर लैजानका लागि ‘जनताको जनवाद’ नै उपयुुक्त कार्यदिशा भएको उनले दावी गरे ।

एकाधिकार दलाल पुँजीलाई विस्थापित नगरी देशमा समृद्वि नआउने भन्दै समृद्धि हासिल गर्न समाजवादी कार्यनीति अवलम्बन गर्नुपर्ने उनले बताए । एकाधिकार दलाल पुँजीलाई विस्थापित गरी राष्ट्रिय औधोगिक पुँजीको निर्माण गरेर मात्रै समाजवादमा जान सकिने भएकाले ‘जनताको जनवाद’ ले मात्रै त्यो कार्यभार पूरा गर्न सक्ने नेता गुरूङले बताए ।

नेकपाभित्र ‘जनताको जनवाद’ लाई मुख्य कार्यदिशा मान्ने कि ‘जनताको बहुदलीय जनवाद’ लाई मान्ने भन्नेमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियाको थालनी भएदेखि अझैसम्म शीर्ष तहदेखि तलसम्म विवाद कायम छ । यद्यपि अध्यक्षद्वय र बहुमत नेता–कार्यकर्ताहरूले भने ‘जनताको जनवाद नै तत्कालको कार्यदिशा भएकोमा स्पष्ट सहमति जनाइसकेका छन् ।

कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज मायानाथ अधिकारी, प्रदेश सदस्य पारसमणि पौडेल, महेन्द्रलाल श्रेष्ठलगायतले पुष्पलालका योगदान र विचारको प्रशंसा गरे । सबैले पुष्पलालको जीवन र विचारलाई अंगीकार गर्नुपर्नेमा उनीहरूले जोड दिए । जिल्ला अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघोषण प्रदेश सांसद एवं जिल्ला सचिव धनन्जय दवाडीले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर