newskoseli.Com

गुल्मीमा पहिरोबाट १३ को मृत्यु, लमजुङमा बगेका ११ मध्ये ४ को मृत्यु, ७ अझै बेपत्ता

गुल्मीको सत्यवती गाँउपालिकामा पहिरोमा पुरिएर १३ जनाले ज्यान गुमाएका छन् । तीन दिनदेखि बेपत्ता ४ जनाको शव नेपाली सेनाले बुधबार फेला पारेपछि मृतकको संख्या १३ पुगेको हो । वडा नम्बर ३ र ४ मा गरी सोमबार ९ जनाका शव फेला परेका थिए भने ४ जना बेपत्ता थिए ।

वडा नं. ४ स्थित लिम्घामा पहिरोमा बेपत्ता भएका ७ वर्षिया तारा विक र डेढ वर्षीय बालक सञ्जु विक, वडा नं. ३ को ठूलोलुम्पेकमा ३४ वर्षिया माया विक र उनका १४ वर्षिय छोरा बबि विकको शव फेला परेको जानकारी जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी मीनबहादुर घलेले दिए । पाल्पाबाट आएको नेपाली सेनाको टोलीले बेपत्ताहरुको खोजी गरिरहेको थियो ।

वडा नं. ३, लिम्घामा सोमबार पहिरोले घर बगाउँदा मंगलबारसम्म एकै परिवारका निर्मला विक, पम्फा विक, अञ्जली विक, हिमांशु विक, छली विक र सिवानी विक तथा ठस्लो लुम्पेकमा तिलकुमारी र उनका छोरा दर्शन तरामु मगर तथा दुर्गाबहादुर सिंजालीको शव फेला परेका थिए ।

पहिरोमा घाइते भएका ठूलो लुम्पेकका करिष्मा र धनी तरामुलाई बुधबार परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले उपचारका लागि हेलिकप्टरमा राखेर काठमाडौं ल्याएका थिए ।

लमजुङमा दोर्दीले बगायो ११ जना, ४ शव फेला परे ७ अझै बेपत्ता

त्यसैगरी, लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाएका ११ जना कामदारमध्ये ७ जना अझै बेपत्ता छन् । बुधबार दिउँसो करिव ३ बजेतिर दोर्दी खोलामा आएको बाढीले बगाएका दोर्दी– ए जलविद्युत आयोजनाका ४ जनाको शव भने फेला पारेका छन् । तीमध्ये २ जनाको सनाखत भएको लमजुङका डीएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन् ।

सनाखत हुनेहरुमा पर्साका अन्दाजी २८ वर्षीय शिवधन चौधरी र डडेलधुराका अन्दाजी ३४ वर्षीय रमेश बुढा रहेको उनले बताए । निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी– ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत कामदारलाई बाढीले बगाएको हो । अचानक खोलो उर्लिएर बाढी आएपछि मजदुरको भागाभाग भएको थियो । भाग्ने क्रममा नै उनीहरुको मृत्यु भएको हुन सक्ने प्रहरीले अनुमान अनुमान गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर