newskoseli.Com

स्वास्थ्यपरीक्षणका लागि सिङ्गापुर उडे प्रधानमन्त्री ओली : ९ सदस्यीय भ्रमणदलमा को–को सहभागी ?

नियमित स्वास्थ्यपरीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली शनिबार राति सिङ्गापुरतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा पत्रकारहरुले राखेका जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले आफू स्वास्थ्योपचार गराउन सिङ्गापुर जान लागेको संक्षिप्त प्रतिक्रिया दिए ।

प्रधानमन्त्रीका साथमा उनका श्रीमती राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा. दिब्यासिंह शाह, स्वकीय सचिव राजेश ब्रजाचार्यसहित नौ जना सहभागी रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनलाई बिदाइ गर्न राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललगायत विशिष्ट व्यक्तिहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा आइतबारदेखि स्वास्थ्यपरीक्षण सुरु हुनेछ । उनले एक हप्तासम्म अस्पतालमै रहेर स्वास्थ्योपचार गर्ने कार्यक्रम छ । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली नियमित स्वास्थ्यपरीक्षण गराउन यसअघि थाइल्याण्ड गएका थिए ।

नियमित स्वास्थ्यपरीक्षण गरेर प्रधानमन्त्री ओली शुक्रबार (साउन २४ मा) स्वदेश फर्कने कार्यक्रम रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर