newskoseli.Com

यस्ताे बन्दैछ नयाँ प्रधानमन्त्री निवास : आधुनिक प्रविधिसँगै मौलिक संस्कृति झल्काइने, ४० करोड खर्च हुने

मुलुकको कार्यकारी प्रमुख बस्ने प्रधानमन्त्री निवासको समेत नयाँ निर्माण हुने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासका केही भवन भत्काएर मौलिक संस्कृति र परम्परा समेत झल्कने गरी आधुनिक प्रविधिसहितको निवास निर्माण हुने भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागका अनुसार हालको प्रधानमन्त्री निवास रहेको ठाउँमा वर्तमान आवश्यकतालाई परिपूर्ति गर्ने र मौलक परम्परा झल्किने गरी भवन बन्न लागेको हो । निजी आवासका लागि र सार्वजनिक प्रयोजनका लागि छुट्टाछुट्टै रुपमा बन्ने दुई भवन निर्माणको जिम्मा को कन्टेक प्रालि नक्सालले लिएको छ ।

भवनको निर्माणकार्य दुई वर्षमा सक्ने योजना छ । दुई रोपनी क्षेत्रफलमा बन्ने पहिलो भवन ९ महिनामा र दोस्रो भवन १५ महिनामा बनाइसक्ने लक्ष्य रहेको छ । यसका लागि झन्डै ४० करोड रूपैयाँ लाग्ने विभागका महानिर्देशक मणिराम गेलालले जानकारी दिएका छन् । ‘मौलिक परम्परा झल्कने गरी काठमा बुट्टा कुँदेर झ्याल–ढोका बनाइनेछ, काठकै बाल्कोनी समेत आकर्षक हुन्छ, इँट्टाको प्रयोग पनि सोही अनुसार हुनेछ, समग्रमा हाम्रो परम्परा र संस्कृति झल्कने गरी भवन निर्माण हुन्छ’– गेलालले भने ।

आधुनिक प्रविधियुक्त र आकस्मिक मन्त्रिपरिषदको बैठक समेत बस्न सक्ने गरी भवन निर्माण हुनेछ । त्यहींबाट प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न सक्ने गरी अडियो–भिडियो स्टुडियो समेत बनाइने विभागले जनाएको छ । हालको प्रधानमन्त्री निवास पनि यसअघि पटक–पटक गरेर बनाइएको थियो । पहिलो चरणमा उत्तर खण्ड र दोस्रो चरणमा दक्षिण खण्डका भवन बनेका थिए । निरंकुश राजतन्त्र बहाल रहेकै बेलामा भवन बनाइएको थियो ।

भवनको बिहीबार शिलान्यास गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘निरंकुश राजतन्त्रको बेलामा विगतमा जनताद्वारा निर्वाचित जनप्रतिनिधि कमजोर र अव्यवस्थित क्षेत्रमा बस्नुपर्छ भनेर नेपालमा धेरै दरबार बनिसकेपछि पनि प्रधानमन्त्रीका लागि भने सामान्य घर बनाइएको’ बताए । हालसम्मको प्रधानमन्त्री निवासमा प्रधानमन्त्रीका लागि आवश्यक कुनै पनि पूर्वाधार नभएको प्रधानमन्त्रीको दुःखेसो छ । ‘भुइँतलामा तीन कोठा र माथि तीन कोठा मात्रै थिए, अतिथि सत्कार र बैठक कक्ष थिएन, त्यो विस्तार गर्दा पनि उपयुक्त ढङ्गको थिएन’– प्रधानमन्त्री ओलीले उल्लेख गरे ।

यसपालि काठको बुट्टा कुँदेर आकर्षक झ्याल बनाइनेछ । इँट्टा पनि मौलिक संस्कृतिसँग मिल्ने गरी प्रयोग गरिने र बाल्कोनी समेत बनाएर नेपालीपन झल्कने गरी डिजाइन गरिएको विभागले जनाएको छ । नयाँ बन्ने दुइटामध्ये एउटा भवन प्रधानमन्त्रीको नितान्त निजी प्रयोजनका लागि र अर्को भवन सार्वजनिक प्रयोजनका लागि हुनेछ । सार्वजनिक भवन राजनीतिक–कूटनीतिक संवाद तथा सर्वसाधारणसँग भेटघाटका लागि प्रयोग हुनेछ ।

सार्वजनिक भवनको भुइँतलामा अति विशिष्ट भेटघाट कक्ष, मन्त्रिपरिषदको आकस्मिक बैठक कक्ष, चालीस जनासम्मले खान मिल्ने डाइनिङ हल, किचेन, कम्युनिकेसन सेन्टर, सुरक्षाकर्मीको नियन्त्रण कक्ष, एडीसी कक्ष, गोप्य कोठा र प्रतीक्षा कक्षा हुनेछन् । पहिलो तलामा सर्वसाधारणसँगको भेटघाट कक्ष, भोजन गर्न मिल्ने ब्यांक्वेट, दुई वटा प्रतीक्षा कक्ष, होल्डिङ कक्ष, पीए बस्ने र प्रधानमन्त्रीको ग्यालरी कक्ष, सैलुन, डाक्टर कक्ष र डेन्टलसहितका ९ युनिट रहनेछन् ।

त्यसैगरी, दोस्रो तलामा प्रधानमन्त्रीको कार्यकक्ष, प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्न मिल्ने अडियो–भिडियो सहितको स्टुडियो, बगैंचा सहितको लबी गरी १२ युनिट रहनेछन् । सार्वजनक भवनको भुइँ तलामा १४ वटा कार्यकक्ष रहेछन् । भुइँतला अति विशिष्ट व्यक्तिसँगको भेटघाटका लागि छुट्याइनेछ ।

निजी निवास पूर्णतया व्यक्तिगत प्रयोजनका लागि हुनेछ । भुइँ तलामा गेस्टरुम सहितका १० युनिट र पहिलो तलामा पारिवारिक आवासका लागि बाल्कोनी सहितका १५ युनिट रहनेछन् । दोस्रो तला अति विशिष्ट पाहुनालगायतका लागि ११ युनिटको हुने विभागले जनाएको छ ।

अहिलेको सरकारी निवास समयानुुकूल आवश्यकता परिपूर्ति गर्ने खालको नभएको र सुरक्षाका हिसाबले समेत उपयुक्त नभएकाले आधुनिक भवन निर्माण गर्न लागिएको सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले बताए । सरकराले बुधबार मात्रै संसद् भवनको शिलान्यास गरेको थियो । अहिले धेरै भवनको शिलान्यास भएको र प्रधानमन्त्री ओलीको कार्यकालको अन्त्यसम्ममा सबै भवनको उदघाटन गर्ने गरी योजना बनाइएको सचिव अधिकारीले बताए ।

अर्को हप्ता प्रदेश प्रमुखहरूको निवासको शिलान्यास गर्ने कार्यक्रम रहेको जानकारी दिँदै मुलुकको समृद्धिको सपना साकार पार्ने चरणमा सरकार अगाडि बढेको र कतिपय निर्माण समयमै र समयअघि नै सम्पन्न गरेको समेत सचिव अधिकारीले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर