newskoseli.Com

‘सी विचारधारा’ : ‘सत्तारुढ दललाई त फाइदा होला, मुलुकले चाहिँ हार्छ’

छिमेकी चीनले विश्वभर आफ्नो प्रभाव बढाउँदैछ । यही बेला चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) सँग सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले लिएको ‘प्रशिक्षण’ लाई कूटनीतिज्ञहरुले ‘अर्थपूर्ण’ र ‘असंलग्नताको अन्त्य’ भनेका छन् ।

नेपाल उदाउँदा दुई आर्थिक शक्तिका बीच रहेकाले कूटनीतिक संवेदनशीलतामा ख्याल गर्नैपर्छ । चीनले आफ्नो शासन प्रणालीलाई अनुशासित र सबल प्रणालीका रूपमा चित्रण गर्दै आएको छ । उसले छिमेकमार्फत यसलाई प्रचार गर्ने नीति लिएको छ । छिमेकनीति स्पष्ट पारेर चीन आफ्नो प्रभावमा दत्तचित्त भएको विज्ञहरुको टिप्पणी छ ।

यस्तो सहकार्यले सत्तारुढ दललाई फाइदा भए पनि मुलुक हार्ने धारणा उनीहरू राख्छन् । सत्तारुढ दल एकातिर ढल्किँदा नेपालको विदेशनीतिमा असामञ्जस्यता आउने उनीहरूको तर्क छ । नेकपाभित्र चीनसँग नजिक हुने प्रतिस्पर्धा चलेको छ ।

राजनीतिशास्त्रका प्राध्यापक श्रीधर खत्रीले यसलाई ‘बेमौसमी बाजा’ को संज्ञा दिएका छन् । ‘यस प्रकारको प्रशिक्षण चाकडीको हद र अनावश्यक हो । हामी बहुदलीय लोकतान्त्रिक व्यवस्थामा छौं,’ उनले मंगलबार भने– ‘सीको विचार एक मुलुक एक दल (एकदलीय व्यवस्था) मा केन्द्रित छ त्यसैले विचारै मिल्दैन; अन्य अनुभव सुन्न मिल्ला तर अवधारणाको प्रशिक्षण फरक हो ।’

सरकारसँग दुईतिहाइ समर्थन रहे पनि सिद्धान्ततः संविधानअनुरूप अघि बढ्नुपर्ने सुझाव उनले दिए । ‘नेकपा बहुदलीय व्यवस्थामा प्रतिबद्ध छ, उसको घोषणापत्रमा पनि त्यही छ,’ उनले भने– ‘तर, अहिलेको प्रशिक्षण एकदलीय संरचनाको हुँदा सिद्धान्त भएकाले मेल खाँदैन ।’

नेपालले बदलिँदो कूटनीतिक परिवेश र राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर सावधानीपूर्वक कदम चाल्नुपर्ने उनले बताए । ‘भारत र चीनका राष्ट्र एवं सरकार प्रमुखको भ्रमण हुनु राम्रो नीति हो’– उनले भने । नेकपामा ‘सी विचारधारा’ प्रतिको आकर्षण बढ्दो देखिँदा त्यसतर्फ ढल्किएको हुन सक्ने आँकलन उनको रहेको खबर चन्द्रशेखर अधिकारीको बाइलाइनमा बुधबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर